काठमाडौं– नेपाल सरकारले स्यानिटरी प्याडमा कर लगाउने निर्णय गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ। नेपालका करिब १ करोड ५० लाख महिलाले यसको प्रयोग गर्ने बताउँदै तत्काल निर्णय खारेज गर्न पनि अनेरास्ववियुले माग गरेको छ।
अध्यक्ष सुनिता बरालले प्रेस विज्ञप्ति जारी गर्दै भनेकी छन्, 'वर्तमान सरकारले लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याटप्रति अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको छ। यो निर्णय तत्काल खारेज गर्न समेत अनेरास्ववियु नेपाल सरकार समक्ष माग गर्दछ।'
स्यानिटरी प्याड महिलाको विलासिता नभइ आवश्यकता रहेको जनाउँदै सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउने राज्यको दायित्व रहेको सम्झाइएको छ। 'कांग्रेस नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्याडमा समेत विलासिताको सामाग्रिमा झैं उच्च कर लगाइ महिलाहरुको संवेदनशीलताप्रति गरेको बेवास्ता र विभेदप्रति अनेरास्ववियु घोर निन्दा र आपत्ति प्रकट गर्दछ,' विज्ञप्तिमा उल्लेख छ।
केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष ०७६/०७७ देखि नै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको लागि नि:शुल्क स्यानिटरी प्याड उपलब्ध गराउँदै आएको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन पनि विज्ञप्तिमा माग गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, 'विश्वविद्यालयमा अध्ययनरत छात्राहरुका लागि समेत नि:शुल्क र अनिवार्य स्यानिटरी प्याड उपलब्ध हुने व्यवस्था गर्न नेपाल सरकार र सम्बन्धित निकायसमक्ष अनेरास्ववियु जोडदार माग गर्दछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।