फाइल तस्बिर। काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक प्रमाणीकरण गरेकी छन्।
संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस भएको 'विनियोजन विधेयक, २०७८' नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रतिनिधि सभाबाट गत सोमबार नै पारित भएको विधेयक बिहीबार राष्ट्रिय सभाबाट पनि पारित भएको थियो। प्रमुख प्रतिपक्ष एमालेको अवरोधकै बीच राष्ट्रिय सभाबाट विधेयक पारित गरेर सन्देशसहित प्रतिनिधि सभामा पठाइएको थियो।
राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेसँगै अब बजेट होलिडे अन्त्य भएको छ। सरकारले खर्च गर्न पाउने बाटो खुलेको छ।
साउन ३ गते प्रतिनिधि सभा बैठकमा पेस भएको अध्यादेश ६० दिनभित्र प्रतिस्थापन विधेयक पेस भएर पारित नहुँदा बजेटको ७० वर्षे इतिहासमा पहिलो पटक सरकार खर्च गर्न नपाउने भएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।