काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगाएर गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको बताएका छन्।
काभ्रेको पाँचखालमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमसीसी ल्याएर दिमाग खराब गरिरहेको बताए। उनले थपे, ‘एमसीसीले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ। परिमार्जन गरेर संशोधन गरेर अघि बढ्नेमा केही छैन। गठबन्धनमा एमसीसी मुख्य होइन, गठबन्धन मुख्य हो।’
उनले गठबन्धन फुटाउने षड्यन्त्र परास्त गरेको पनि दाबी गरेका छन्। उनले बुधबार बेलुकी भएको गठबन्धनको बैठकमा सबै षड्यन्त्रबारे समीक्षा गरेको बताए। गठबन्धन जोगाउन जस्तोसुकै त्याग गर्न तयार हुने निष्कर्ष निकालिएको उनको भनाइ थियो।
उनको दाबी छ, ‘गठबन्धन बनाएरै चुनाव लड्ने तर गठबन्धन टुट्न नदिने संकल्प गरेका छौं।’
आफू एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकीकरण गरेर जतिसुकै मूल्यमा नपाइने ज्ञान प्राप्त गरेको बताएका छन्। ‘यो गठबन्धन बनाउने बेला कांग्रेसका एकजा साथीले सोध्नुभयो– कमरेड प्रचण्ड केपीसँग एकता गरेर के पाउनुभयो? मेरो जवाफ थियो –अरु केही त पाइनँ। ज्ञान प्राप्त भयो। एकता गरेर मात्रै त्यो ज्ञान पाइन्थ्यो, अब सबैलाई काम लाग्छ।’
उनले अब एमालेका विरुद्ध सबै शक्ति मिल्नुको विकल्प छैन भनेर ज्ञान प्राप्त भएको बताए।
उनले नेकपा एकीकृत समाजवादी पार्टी बनाउन आफ्नो मेहनत परेको बताए। उनले भने, ‘माधवजीको पार्टी बनाउन कम मेहनत परेको छैन। त्यो पार्टीका सबै साथीहरुसँग सहज ढंगले सहकार्य बढाउनुहोला। हामी केन्द्रमा बढाइराखेका छौं।’
प्रचण्डले माओवादीकै पूर्व नेताहरु डा बाबुराम भट्टराई, मोहन बैद्य (किरण) र नेत्रविक्रम चन्द (विप्लव)को पार्टीसँग पनि सम्बन्ध बढाउन आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।