फाइल तस्बिर।
काठमाडौं- नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जनताको बहुदलीय जनवाद (जबज) वेद, पुराण र चण्डी जस्तो घोकिरहने कुरा नभएको बताएका छन्। मंगलबारदेखि जारी केन्द्रीय कमिटीको बैठक समापनपछि बिहीबार उनले जबजको विषयमा आफूहरु प्रष्ट रहेको बताए।
'जबजको राम्रो कुरा ग्रहण गर्ने। यसलाई सिर्जनात्मक ढंगले विकास गर्ने', खतिवडाले भने, 'जनताको बहुदलीय जनवाद मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गर्दाको समयको एउटा अध्याय हो। अब समय परिवर्तन भयो। त्यहाँभित्र पनि परिवर्तन हुन्छ।'
उनले जबजलाई विकसित गर्ने, जनताको जीवन, सोच, चिन्तन र आर्थिक उत्पादन सम्बन्ध र संघर्षको विकास अन्तर्गत हेरेर यसलाई अगाडि बढाउने बताए। 'त्यसैले हामी यसलाई विकसित गर्न चाहन्छौं। हामीमा कुनै अन्योल छैन', उनले भने।
खतिवडाले जबजका सक्कली प्रतिनिधि पनि आफूहरु नै भएको बताए। 'हामी जबजलाई सही ढंगले प्रतिनिधित्व गर्नेछौं। जबजको सारभूत कुराहरु हामीले ग्रहण गरेका छौं। र, आज आवश्यक नपर्ने कुराहरुलाई हामीले बिदा गरेका छौं', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।