काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मसात गर्ने बताएका छन्।
जनताको बहुदलीय जनवादको मूल्य र मान्यतालाई रक्षा गर्दै एकीकृत समाजवादी अघि बढ्ने अध्यक्ष नेपालको भनाइ थियो।
‘जनताको बहुदलीय जनवादीलाई हामीले आत्मासात गर्न चाहन्छौं। त्यसको मूल्य र मान्यताको रक्षा गर्न चाहन्छौं’ अध्यक्ष नेपालले भने।
पार्टी निकट युवा संघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरुको जीवनबाट प्रेरणा लिएर आफ्नो पार्टी अघि बढ्ने बताए। माओ, होचि मिन्हजस्ता नेताहरुले विश्व कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई अध्यक्ष नेपालले निर्देशन दिए।
अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी दिने कामलाई जोड दिने बताए। उनले त्यसका लागि आफूलाई दक्ष बनाउने गरी प्रशिक्षित हुन पनि युवा संघका नेता, कार्यकर्तालाई सचेत गराए। अध्यक्ष नेपालले पार्टीमा आवद्ध युवाहरुले सामाजिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए।
अध्यक्ष नेपालले पार्टीका युवाहरुले कृषि फार्म, माछा पालन, तरकारी खेती, फलफूल खेतीलगायतका उत्पादनशील क्षेत्रको काममा लाग्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।