काठमाडौं- नेकपा एमालेबाट विभाजन गरी गठन गरिएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सो पार्टीलाई प्रतिद्वन्द्वी पार्टी भएको बताएका छन्। मंगलबारदेखि जारी केन्द्रीय कमिटी बैठकलाई समापन सम्बोधन गर्दै उनले एमालेले आफ्नाविरुद्ध भ्रम फैलाइरहेको बताए।
'कमरेडहरू अहिले हामी देखिरहेका छौं, हाम्रो प्रतिद्वन्द्वीको रुपमा रहेको नेकपा एमालेले हाम्रो विरुद्धमा अनर्गल प्रचार गरिरहेको छ। आज मैले भाषणहरु सुनेँ कि अब छिटै हाम्रो पार्टी अर्को पार्टीमा मिसिन गइरहेको छ। यो सतप्रतिशत होइन, हजार प्रतिशत गलत छ', उनले भने।
अध्यक्ष नेपालले आफ्नो पार्टी कसैसँग मिसिनुपर्ने आवश्यकता नरहेको बताए। 'यसको आफ्नै जग बलियो छ। यसको आधार बलियो छ। हामीले व्यापक रुपमा पार्टी कार्यकर्ताको समर्थन प्राप्त गरेका छौं। संगठनको सञ्जाल फैलिएको छ। जनवर्गीय संगठनहरु फैलिँदै गइरहेको छ। देशदेखि प्रदेशसम्म हाम्रो संगठन फैलिँदै गइरहेको छ', उनले भने।
नेपालले आफ्नो पार्टीविरुद्ध कसैले भ्रम फैलाउन खोज्छ भने त्यो भ्रममा नपरीकन सशक्त प्रतिवाद गर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे। खण्डन गर्नका लागि आफूहरुलाई फोनमा सोधिरहनुनपर्ने पनि बताए। उनले पत्रिकामा आयो भनेर अलमलमा नपर्न पनि आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।