काठमाडौं- राष्ट्रिय सभाबाट बजेटको विनियोजन विधेयक पारित भएको छ।
प्रतिपक्ष एमालेको विरोधकैबीच पेस भएको विधेयक बहुमतले पारित भएको हो। बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरूले उठेर विरोध जनाएका थिए।
राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उनीहरूलाई सहमतिमा सदन सञ्चालन राख्न आग्रह गरेका थिए। तर, उनीहरूले विरोध गरिरहेपछि तिमिल्सिनाले विधेयकलाई प्रक्रियामा लगेका थिए। यसअघि पेस भएको बजेटको विनियोजन विधेयकमा छलफलमा भाग लिन दलीय आधारमा नाम दिन अध्यक्ष तिमिल्सिनाले समय दिएका थिए। तर, कसैको नाम पनि नआएपछि अर्थमन्त्री जनार्दन शर्मालाई समय दिएका थिए।
शर्माले पारित गरियोस् भनि पेस गरेको प्रस्तावलाई अध्यक्षले निर्णयका लागि पेश गरेका थिए। बहुमतले उक्त प्रस्ताव पारित भएको थियो। योसँगै बजेट होलिडे अब समाप्त हुनेतिर गएको छ। अब राष्ट्रपतिले प्रमाणिकरण गरेपछि बजेट होलिडे अन्त्य हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।