काठमाडौं– चलचित्र निर्माताहरुले दशैंलक्षित गरेर असोजको दोस्रो साताबाट हल खोल्ने तयारी गरेका छन्। नेपाल चलचित्र संघका अनुसार असोज दोस्रो साताबाट चाडपर्व लक्षित भएर हल खोल्ने तयारी भएको हो।
केही साताअघि उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले हल खोल्ने अनुमति दिएपनि उपत्यकामा हल खुल्न सकेको थिएनन्। एकातिर हलमा चलाउने फिल्मको अभाव थियो भने अर्कातिर चलचत्रि संघले देशैभरका हलहरु खोल्ने अनुमति दिनुपर्ने माग राखेको थियो।
असोज दोस्रो साताबाट हल खोल्ने तयारी गरिरहेको चलचित्र संघले दर्जन जति फिल्मको प्रदर्शन निश्चित गरेर हल खोलिने संघले जनाएको छ। देशभरका हलहरु सँगै खोलेर चलचित्र निर्माताहरुलाई पनि उनीहरुको फिल्म चलाउन संघले आग्रह गरिरहेको छ।
सामान्य अवस्थामा चाडपर्व नजिकिएको समयमा नेपाली सिनेमा हलमा नेपाली फिल्मकै टक्कर चल्थ्यो। तर, कोभिडका कारण यो वर्ष त्यस्तो देखिएको छैन्। केही निर्देशकले आफ्नो फिल्म प्रदर्शन गर्ने मिति तोकेपनि आफ्नो फिल्म प्रदर्शनलाई रोकेर बसेका निर्देशकहरु दर्शक नआउने डरले फिल्म चलाउन चाहेका छैनन्।
यसैबीच, निर्देशक सोभित बस्नेतले आफ्नो फिल्म ‘डाँडाको वर पिपल’ २६ असोजमा प्रदर्शन गर्ने घोषणा गरेका छन्। ती बाहेक चलचित्र संघले अन्य निर्देशकसँग पनि फिल्म मागिरहेको बताएको छ। संघका अध्यक्ष मधुसुधन प्रधानले भने, ‘प्रदर्शन कुरेर बसेका फिल्मलाई पक्का गरेर फिल्म हल खोल्ने तयारी भएको छ। अब फिल्म क्षेत्रलाई चलायमान बनाउन पनि आँट गर्नै पर्ने अवस्था आएको ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।