काठमाडौं– रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) शिवराज सुवेदीमाथि हातपात (मुक्का प्रहार) गरेको आरोपमा पक्राउ परेका युवकलाई जिल्ला अदालत रुपन्देहीले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
बुटवल उपमहानगरपालिका–३ मा पहिरो प्रभावित क्षेत्रको अवलोकनका क्रममा मेयर सुवेदीमाथि हातपात गरेको आरोपमा प्रहरीले सोमबार सोही ठाउँका गणेश पंगेनीलाई पक्राउ गरेको थियो।
सोमबार पक्राउ परेका पंगनीविरुद्ध प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाएको थियो। पंगनीविरुद्ध उक्त कसूरमा अनुसन्धानका लागि अदालतले ५ दिन हिरासतमा राख्ने अनुमति दिएको हो।
सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ स्थित पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने क्रममा मेयर सुवेदीमाथि मुक्का प्रहार भएको थियो।
भदौ १३ मा गएको पहिरोले बुटवल–३ को ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा २ दर्जन बढी घरमा क्षति पुगेको थियो। पहिरोले घरमा क्षति पुगेपछि पीडित परिवार विस्थापित हुन पुगेका थिए।
मेयर सुवेदी भने पहिरो गएको ३ सातापछि मात्रै सोमबार बिहान उक्त क्षेत्रको अवलोकन गर्न गएका थिए। पहिरोपीडितको बेवास्ता गरेको भन्दै मेयर सुवेदीकै पार्टी नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्वियूका रुपन्देही जिल्ला कमिटी सदस्य पंगेनी हातपातमा उत्रिएका थिए।
इलाका प्रहरी कार्यालय बुटवलको टोलीले सोमबार साँझ पंगेनीलाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।