फाइल तस्बिर।
काठमाडौं– प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्री नियुक्त गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेलको सल्लाह लिएको बताएका छन्।
कांग्रेस नेताहरुको बैठकमा वरिष्ठ नेता पौडेल पक्षले प्रधानमन्त्रीले पार्टीभित्र अन्य समूहसँग छलफल नै नगरी मन्त्री बनाएको बताएका थिए। सल्लाह नगरी मन्त्री नियुक्त गरेको विषय पौडेलले उठाएपछि उनीप्रति झर्किँदै देउवाले भने, ‘सल्लाह गरेर त मन्त्री बनाएको हुँ। तपाईंलाई सोधेको होइन?’
पार्टीमा सल्लाह नभई एकतर्फी मन्त्री बनाएको पौडेलको अभिव्यक्तिलाई उपसभापति विमलेन्द्र निधिले समर्थन जनाएका थिए। वरिष्ठ नेता पौडेलसँग सोधेरै मन्त्री नियुक्त गरेको प्रतिरक्षा गरेका देउवाले निधिसँग पनि छलफल गर्ने बचन दिएका थिए।
अन्य मन्त्री बनाउँदा सल्लाह गर्ने बचन दिएपछि निधिले ‘हात मिलाऔं’ भन्दै हात देउवातिर सारेका थिए। तर, कोरोना संक्रमण रहिरहेको बताउँदै हात मिलाउन भने देउवा तयार नभएको बताइएको छ।
बुधबार बसेको बैठक मूलतः आसन्न १४औं महाधिवेशनको कार्यतालिकामा केन्द्रित रहेको थियो। मन्त्रिमण्डल विस्तारका विषयमा अनौपचारिक मात्रै छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
दशैंअघि गाउँ/नगर अधिवेशन मात्रै सक्ने गरि कार्यतालिका पुनः संशोधन गर्ने निर्णय भएको छ। वडा अधिवेशन सकिएका जिल्लामा पूर्वनिर्धारित समय अनुसार असोज ९ मा गाउँ/नगर अधिवेशन गर्ने निर्णय गरिएको छ।
वडा अधिवेशन हुन नसकेका १३ जिल्लाको क्रियाशील सदस्यता टुंगाउने जिम्मेवारी पुनः तीन सदस्यीय कार्यदललाई दिइएको छ। नेता कृष्णप्रसाद सिटौला, मीनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले नामावली छिटो टुंगाउन सकेमा असोज ९ अघि बाँकी जिल्लामा वडा अधिवशेन गरिने भएको छ।
त्यसअघि क्रियाशील सदस्यताको टुंगो लाग्न नसके निर्वाचन समितिले क्रमशः वडा अधिवेशनको मिति तय गरिने भएको छ। कार्यदलले नामावली प्रकाशन गरे अनुसार निर्वाचन समितिले मिति तोक्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।