काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीले बिहीबार महासचिव चयन गर्ने भएको छ। मंगलबारदेखि जारी उक्त पार्टीको केन्द्रीय कमिटीको बैठकको अजेण्डा अनुसार बिहीबारको बैठकले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्य पनि टुंगो लगाउने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
'भोलिको बैठकले हाम्रा आगामी कार्ययोजना पारित गर्नेछौं। तीन महिनाभित्र पार्टीको राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने योजनामा लागिरहेका छौं। समयले नभ्याए अर्कै कुरा हो, नभए त्यो काम गर्नेछौं,' खतिवडाले भने।
त्यस्तै, पार्टीको चुनाव चिह्नका लागि धेरै सुझावहरु प्राप्त गरिएको भन्दै उनले त्यसलाई चाँडोभन्दा चाँडो अन्तिम रुप दिएर निर्वाचन आयोगमा जाने बताए। पार्टी दर्ताका बेलामा यो पार्टीले चुनाव चिह्न बुझाएको थिएन।
बुधबारको बैठकले 'समाजवाद' नामको पार्टीको मुखपत्र प्रकाशन गर्ने निर्णय पनि गरेको छ। 'यसैगरी चाँडोभन्दा चाँडो एउटा बुलेटिन प्रकाशित गर्नेछौं। त्यो समसामयिक बुलेटिन हुनेछ। महिना दिनमा हुन्छ कि १५ दिनमा हुन्छ कि, समय र कार्य कस्तो गर्न सकिन्छ,' उनले भने। बैठक भोलि पनि बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।