काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवादलाई थप विकास गर्ने बताएका छन्। बुधबारको केन्द्रीय कमिटी बैठकमा जबजका सन्दर्भमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले त्यसलाई मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गर्ने सन्दर्भमा देखापरेको त्यसको एउटा अध्याय भएको बताए।
'आजभन्दा अगाडि नेकपा एमालेले जबजलाई कुरुप गर्दै गएको थियो। यसलाई विरुप बनाउँदै गएको थियो। या त यसलाई देवत्वकरण गर्ने र जबजलाई वेद पुराण जस्तो कहिल्यै परिवर्तन हुन नसक्ने बनाउँदै लगिएको थियो। या त यसलाई यति विकृत बनाइएको थियो कि जबजको आदर्श भनेकै, आजकै व्यवहार भनेकै यदि जबजका आदर्श हुन् भने जबजको पनि काम छैन भन्ने ठाउँमा पुर्याउन लागिएको थियो। हामी यसबाट मुक्त हुन थाहन्छौं', अध्यक्ष नेपाललाई उद्धृत गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने।
जबजका सारभूत विचारहरुलाई पक्रिँदै समाजवाद र समृद्धिको यात्रामा जाने आफूहरुले अठोट गरेको नेपालको भनाइ थियो।
मंगलबारदेखि सुरु भएको बैठकमा अध्यक्ष नेपालले १२ पृष्ठको प्रतिवेदन पेस गरेका थिए। सो प्रतिवेदनमाथि छलफलका लागि पाँचवटा समूह बनाइएको थियो। समूह छलफलको नेतृत्व समूह १ बाट रामकुमारी झाँक्री, समूह २ बाट रामचन्द्र साह, समूह ३ बाट रमा आले, समूह ४ बाट श्रीप्रसाद साह र समूह ५ बाट दिनेश राईले गरेका थिए।
आजको बैठकमा समूहका तर्फबाट बुझाइएको प्रतिवेदनसँग जबजको विषय पनि उठेको थियो। अध्यक्ष नेपालले त्यस सम्बन्धमा पार्टीको धारणा प्रष्ट पारेका हुन्।
बैठकले अध्यक्ष नेपालद्वारा मंगलबार प्रस्तुत राजनीतिक प्रतिवेदन पनि पारित गरेको छ। 'उहाँ (समूह नेता) हरूले दिएका महत्त्वपूर्ण सुझावहरूलाई पार्टी केन्द्रीय कमिटीको बैठकले ग्रहण गर्दै सुझावहरूसहित राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिनेगरी पारित गर्न प्रस्ताव गरियो। र, त्यो प्रस्ताव पारित भएको छ', खतिवडाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।