फाइल तस्बिर।
काठमाडौं- १७ वर्षदेखि छोराको हत्यारालाई कारबाहीको माग गर्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीले अब आफूले नेपालमा न्याय नपाउने भएकाले मुद्दा अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी दिएकी छन्। अनशनकै क्रममा बितेका पति नन्दप्रसाद अधिकारीको सातौं पुन्यतिथिको अवसरमा एक अपिल जारी गर्दै उनले यस्तो चेतावनी दिएकी हुन्।
‘सरकारी पक्षबाट झुटा आश्वासन तथा ढिलासुस्ती मात्र पाएकाले र नेपालमा न्याय नपाएकाले अब अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेकी छु’, उनले अपिलमा भनेकी छन्, ‘अन्तर्राष्ट्रिय निकायसँगै मानव अधिकार आयोग र आफ्नो तर्फबाट संयुक्त राष्ट्रसंघको मानवअधिकार समितिसमक्ष दिएको निवेदन पनि अघि बढाउन सहयोगको अपिल गर्दछु।’
अधिकारीले द्वन्द्वकालमा हत्या भएको आफ्नो छोराको अनुसन्धान पुन: गर्न माग गरेकी छन्। अनशनकै क्रममा पति नन्दप्रसाद अधिकारी गुमाएकी गंगामायाले न्यायका लागि विगत १७ वर्षदेखि पीडादायी र कठिन यात्रा गरिरहेको भन्दै उनले लडाइँ अझै जारी रहेने बताएकी छन्। अहिले पनि वीर अस्पालमामा रहेकी उनले आफू ज्युदो रहँदासम्म यो क्रम जारी रहने बताएकी छन्।
२०६१ जेठ २४ गते चितवनको रत्ननगरमा रहेको बकुलहर चोकमा उनका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो।हत्यामा संलग्नहरू अहिलेसम्म पनि स्वतन्त्र घुमिरहेका भन्दै उनले पुन: अनुसन्धानको माग गरेकी छन्।
‘मेरो छोराको हत्याको स्वतन्त्र तथा निष्पक्ष अनुसन्धान थाल्नका लागि हामीले ३३४ दिनसम्म भोक हड्ताल गरेको भएपनि राज्यले हामीलाई बेवास्ता गरेपछि मेरा पतिको मृत्यु हड्तालका क्रममा अस्पतालमा भएको थियो’, गंगामायाको अपिलमा भनिएको छ ‘यस्तो अवस्था बेहोर्नुपरेको भएपनि म न्यायको आशा राखिरहेकी छु। र, शान्तिपूर्ण तरिकाले न्यायको माग गरिरहेकी छु।’
उनले भोक हड्ताल आफूहरुको रहर नभई बाध्यता भएको बताएकी छन्। उनको पतिको लास अहिले पनि त्रिवि शिक्षण अस्पताल महारागञ्जमा रहेको छ। ‘नौ वर्षसम्म न्यायका लागि सबै कानुनी उपायहरू अपनाएको भएपनि न्यायबाट वञ्चित गरिएकाले मेरा पति र मैले आमरण अनशन सुरू गर्ने निर्णय लिएका थियौं’ उनले भनेकी छन् ‘सरकारलाई दबाब दिने यो मात्र एक विकल्प बाँकी थियो।’ तर, सत्याग्रहको ३३४औंदिनमा आफूले पति गुमाएको उनले सम्झना गरेकी छन्।
‘पतिको मृत्युपछि म छियाछिया भएँ तर, आफूलाई सम्हाल्दै मैले छोरा र पतिका लागि न्यायको लडाइँ जारी राखेकी छु’, उनले लेखेकी छन्, ‘चितवन जिल्ला अदालतमा २०७० चैत १२ मा आरोपित व्यक्तिहरूका विरुद्ध अभियोगपत्र दायर गरिएपछि न्यायको आशा पलाएको थियो।’ तर, अदालतबाटै सफाइ पाएपछि आफ्नो न्यायको संघर्ष अन्त्य गराउने प्रयास गरिएको उनको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।