काठमाडौं– प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले आफूसँग छलफल नै नगरी चारजना मन्त्री बनाइसकेको भन्दै नेपाली कांग्रेसको संस्थापनइतर पक्षले असन्तुष्टि जनाएको छ।
बुधबार कांग्रेस पदाधिकारी बैठकअघि बसेको उक्त समूहको बैठकले असन्तुष्टि जनाउने निष्कर्ष निकालेको नेता सुजाता कोइरालाले बताइन्।
बैठकपछि प्रतिक्रिया दिँदै उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूले चारजना मन्त्री बनाउनुभयो। पार्टीमा छलफल भएन भन्नेमा हामी सबैको असन्तुष्टि रह्यो।’
पार्टीमा देखिएका समस्या समाधान नगरी यसरी अघि बढ्दा पार्टी कमजोर हुँदै जाने विषयमा पनि छलफल भएको उनले बताइन्। कांग्रेसले मन्त्रीहरुको टुंगो छिटो भन्दा छिटो लगाउनुपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ। ‘अरुलाई दोष दिएर मात्रै हुँदैन। आफू पनि अगाडि बढ्नुपर्छ भनेर हामी पदाधिकारी बैठकमा कुरा उठाउँछौं,’ उनले थपिन्।
आफूपक्षका चारजना मन्त्री बनाइसकेका देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई जम्मा एकजना छुट्याएका छन्। महामन्त्री शशांक कोइरालाले पनि एकजना मन्त्री पठाउन पाउनेछन्।
नेता कोइरालाले थपिन्, ‘देउवाजीले उहाँहरुलाई एक–एकजना सिफारिस गर्नुहोस् भन्नुभएको रहेछ।’
आफू पनि सरकारमा जानका लागि तयार रहेको उनले बताइन्। आफ्नो गुटले आफैंलाई पठाउने विश्वास उनले व्यक्त गरिन्। अरु कोही उपप्रधानमन्त्री नबने आफू पनि मन्त्रीमा चित्त बुझाउने संकेत समेत उनले गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।