काठमाडौं– नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्काले अमेरिका भ्रमणका क्रममा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) आफ्नो प्राथमिकताको सूचीमा नरहेको बताएका छन्।
अमेरिका भ्रमणमा जानुअघि बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू विशुद्ध संयुक्त राष्ट्र संघको महासभाका लागि जान लागेका बताएका हुन्।
उनले भने, ‘एमसीसी मेरो प्राथमिकताको सूचीमा छैन। महासभामा भाग लिन जान लागेको हुँ। नेपालका अन्य एजेन्डाहरु प्रस्तुत हुनेछन्।’
उनले विभिन्न देशका साथै सार्क राष्ट्रका परराष्ट्रमन्त्री समेत सहभागी हुने भएकाले भ्रमण महत्वपूर्ण हुने उल्लेख गरे। सार्क राष्ट्रको नेपाल अध्यक्ष पनि भएकाले उक्त अवसरलाई सम्बन्ध विस्तार गर्न उपयोग गर्ने उनको भनाइ थियो।
उनले भने, ‘सार्क राष्ट्रका परराष्ट्र मन्त्रीहरुसँग पनि भेटघाट हुन्छ। विचार आदानप्रदान गरिनेछ। अध्यक्ष राष्ट्र भएकाले कूटनीतिक सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण प्लेटफर्म प्राप्त हुँदैछ।’
आफूले अत्यन्त महत्वपूर्ण समयमा जिम्मेवारी पाएको बताउँदै दक्षिण एसिया नै संक्रमणकालीन अवस्थामा रहेको र त्यसले प्रभाव पार्ने भएकाले संवेदनशील भएर अघि बढ्नुपर्ने बताए।
मन्त्री खड्काले अहिलेका जल्दाबल्दा र भावी दिनमा आउने समस्या समाधानका लागि राष्ट्रिय सहमति जुटाएर अगाडि बढ्ने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।