काठमाडौं–नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफ्नो राजनीतिक जीवन सिध्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग भएको टिप्पणी गरेका छन्। बालुवाटारको ललिता निवास जग्गा प्रकणरमा आयोगले मुद्दा चलाएको डेढ वर्षपछि पहिलोपल्ट सार्वजनिक रुपमा उनले यस्तो अभिव्यक्ति दिएका हुन्।
बुधबार पत्रकार सम्मेलन गरी गच्छदारले आफूमाथि सुनियोजित रुपमा प्रहार भएको बताए। उनको भनाइ थियो, ‘ललिता निवासमा मलाई राजनीतिक प्रतिशोध साँध्न मुद्दा चलाइयो। मेरो ५० वर्ष लामो राजनीतिक जीवन समाप्त गर्ने खेलमा अख्तियार प्रयोग भयो भन्नुपर्दा अतिशयोक्ति हुँदैन।’
आयोगले २०७६ माघ २२ गते ललितानिवास जग्गा किनबेच प्रकरणमा पूर्व मन्त्री गच्छदारलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। केपी शर्मा ओलीको सरकार रहँदासम्म सार्वजनिक नभएका उनी नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि गत असार ३० गते विशेष अदालतमा हाजिर भएका थिए। अदालतले उनलाई धरौटीमा रिहा गरेको थियो।
धरौटीमा रिहा गर्ने विशेष अदालतको आदेशबाट आफूले न्याय पाएको गच्छदारको भनाइ छ। उनले थपे, ‘म विगत डेढ वर्षसम्म एक दिनपछि सार्वजनिक काम र मिडियामा आइनँ। अदालतले धरौटीमा रिहा गरेर न्याय दिएपछि मात्रै सावर्जजनिक भएँ।’
राजनीतिक प्रतिशोध साँधेर निरन्तर स्वतन्त्रताका लागि लडेको व्यक्तिको राजनीति समाप्त पार्ने षड्यन्त्र भएको उनले वक्तव्यमा दोहोर्याएका छन्।
आरोपपत्रमा लगाइएका आरोपका साथ प्रमाण अध्ययनन गरिएमा आफू निर्दोष रहेदा तथ्य देखिने उनको दाबी थियो। उनले भने, ‘आयोगबाट समेत पूर्वाग्रही काम भयो। सरकारको प्रतिशोधमा संवैधनिक आयोग शिर निहुराएर बस्यो।’
आफूलाई पूवाग्रहबाट मुद्दामा तानिएपनि कतिपयलाई दलीय संरक्षण प्राप्त भएको उनको टिप्पणी छ। उनले भने, ‘मेरो राजनीतिक चरित्र हत्या गर्नेगरी षड्यन्त्र भयो।’
न्यायलयप्रति विश्वास रहेको बताउँदै उनले आफू दोषी प्रमाणित भए कारबाही गर्नुपर्ने मान्यता रहेको बताए। तर, अनुसन्धान र तहकिकात निष्पक्ष हुनुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।