काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले स्थायी समिति बैठक बोलाएको छ। बैठक बुधबार दिउँसो ३ बजे माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरि बोलाइएको हो।
समसामयिक विषयमा छलफल गर्न बैठक आह्वान भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का प्रेस संयोजक विष्णु सापकोटाले बताए।
सत्तारूढ गठबन्धनबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भइरहेका बेला माओवादीले बैठक बोलाएको हो। एक नेताका अनुसार बैठकमा सरकारमा पठाउने मन्त्रीका विषयमा छलफल हुनेछ।
मंगलबार सत्ता गठबन्धनको बैठक बसेको थियो। गठबन्धनको बैठकमा कांग्रेसका नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो। सोही अनुसार उनले बुधबार पद तथा गोपनियताको शपथ लिँदैछन्।
यसअघि सरकारमा माओवादीका तर्फबाट दुई मन्त्री, कांग्रेसका तर्फबाट दुई मन्त्री, एक राज्यमन्त्री थिए। सत्ताघटक नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मन्त्रिपरिषद्मा सहभागिता जनाएका छैनन्।
मंगलबारको बैठकमा आ-आफ्नो पार्टीमा छलफल गरेर मन्त्रीको नाम टुंग्याउने सहमति भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।