काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पूर्वपार्टी नेकपा (एमाले)बाट विद्रोह गर्न आफूहरु बाध्य भएको बताएका छन्।
मंगलबारदेखि सुरु भएको एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा नेपालले आफ्नो नेतृत्वमा छुट्टै पार्टी गठन ओलीकै कारण भएको उल्लेख गरेका छन्। एमालेलाई एकताबद्ध राख्न थुप्रै प्रयत्न भए पनि ओलीकै कारण ती प्रयास सफल नभएकोसमेत उनले बताएका छन्।
'आफूसँग असहमत रहेका व्यक्तिहरूलाई सङ्गठित गरिएन र जिम्मेवारी नै दिइएन। कम्युनिस्ट पार्टी नीति प्रधान हुनुपर्नेमा नेता प्रधान बनाइयो। व्यक्तिवादी अहंकारवाद हावी हुँदै गयो। व्यक्ति पूजाको संस्कृति मौलाउँदै गयो,' नेपालले उल्लेख गरेका छन्, 'पार्टीलाई दक्षिणपन्थी अवसरवादको दलदलमा धकेल्दै लगियो। हामीले उक्त गलत विचार र व्यवहारका विरुद्ध निरन्तर रूपमा अन्तरपार्टी सङ्घर्ष चलाउँदै आयौँ तर केपी ओलीका विचार, व्यवहार र कार्यशैलीमा कत्ति पनि परिवर्तन भएन।'


नेपालले ओलीले नै एमाले विभाजन चाहेको दाबी गरेका छन्। 'केपी ओली पार्टीमा आफ्नो एकल वर्चश्व कायम गर्नका निम्ति एकता होइन विभाजन नै चाहन्थे, त्यसैले उनले पार्टी एकता जोगाउनका निम्ति कुनै पनि पहल गरेनन्,' नेपालले राजनीतिक प्रस्तावमा उल्लेख गरेका छन्, 'केपी ओलीले यसरी गुटबन्दीपूर्ण, निरङ्कुश, स्वेच्छाचारी र व्यक्तिवादी ढङ्गले गरेका सम्पूर्ण निर्णयहरू अवैधानिक भएको हुनाले तिनलाई सच्याएर पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा पुर्याउनका लागि हामीले निकै नै प्रयत्न गर्यौं, तर केपी ओलीमा यति धेरै दम्भ र घमण्ड देखियो कि उनी कुनै कुरा पनि सच्याउन तयार भएनन् र आफ्नो विखण्डकारी अडानमै रहिरहे।'
उनले नयाँ पार्टी खोल्ने आफ्नो निर्णयलाई आवश्यक र उचित भनेका छन्। 'मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नका निम्ति पनि यो विद्रोह आवश्यक र उचित थियो,' नेपालको राजनीतिक प्रस्तावमा उल्लेख छ।
दस्तावेजको पूर्णपाठ:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।