काठमाडौं- बलियो टोली हङकङसँग बराबरी खेलेपछि नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप-२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ।
उज्वेकिस्तानमा आज भएको छनोट चरणको दोस्रो खेलमा नेपालले हङकङसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो। उक्त बराबरीसँगै नेपाली महिला फुटबल टोलीको भारतमा आयोजना हुने एएफसी महिला एसियन कपको यात्रा समाप्त भएको छ।
दुई खेलबाट एक अंक जोडेको नेपाल अघिल्लो चरण पुग्नका लागि हङकङविरुद्ध जित्नैपर्ने दबाबमा थियो। तर, नेपालले हङकङसँग बराबरीमा चित्त बुझाउँदा छनोटबाटै बाहिरिएको हो।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले हङकङलाई दबाब दिएर खेले पनि पाएका केही राम्रा अवसर सदुपयोग गर्न सकेन। नेपालले पहिलोपटक हङकङसँग बराबरी खेलेको हो। यसअघिको दुई भेटमा नेपालले नतिजा सुम्पिएको थियो। सन् १९८६ मा भएको पहिलो भेटमा नेपाल हङकङसँग १-० ले पराजित भएको थियो भने १९८९ मा भएको दोस्रो भेटमा ३-० ले पराजित भएको थियो।
छनोटको पहिलो खेलमा नेपालले सुरुआती अग्रता अन्तिम मिनेटमा कायम राख्न नसक्दा फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको थियो। उक्त खेलमा नेपालविरुद्ध फिलिपिन्सले बराबरी र इन्जुरी समयमा दोस्रो गोल गर्दै रोमाञ्चक जित निकालेको थियो।
नेपालसँग बराबरीमा रोकिएको हङकङको छनोट हुने सम्भावना भने अझै कायमै छ। हङकङले अब अन्तिम खेलमा फिलिपिन्ससँग खेल्नेछ। उक्त खेलमा हङकङले सुखद् नतिजा निकाले हङकङको अघिल्लो चरणको यात्रा तय हुनेछ भने पराजित भएको खण्डमा फिलिपिन्सले अर्को वर्ष भारतमा हुने एसियन कपमा सहभागी हुने मौका पाउनेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।