काठमाडौं- नेकपा (एमाले) फुटेर निर्माण भएको नेकपा (एकीकृत समाजवादी)ले वामपन्थी शक्तिहरुको संयुक्त मोर्चामा जोड दिएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा राखेको राजनीतिक प्रतिवेदनमा ‘वाम मोर्चा’ निर्माण गर्नुलाई मुख्य कार्यभार भनिएको छ।
आगामी निर्वाचनसम्म हाल कायम वाम लोकतान्त्रिक गठबन्धनलाई टिकाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ। गठबन्धनमा रहेका वामपन्थी शक्तिहरुले भने त्यसभन्दा पछि पनि मोर्चा बनाएर काम गर्दै जानुपर्ने उक्त प्रतिवेदनमा औंल्याइएको छ।
वर्तमान गठबन्धनका विषयमा प्रतिवेदनमा भनिएको छ, ‘हाल कायम वाम लोकतान्त्रिक गठबन्धनलाई कम्तिमा यो प्रतिनिधि सभाको कार्यकाल र आगामी निर्वाचनसम्म टिकाउनु र सहमति एवं सहकार्यको आधारमा सरकार सञ्चालन गरी आमजनतालाई सेवा प्रदान गर्नु हो।’
यसैगरी आगामी निर्वाचनमा वामपन्थी शक्तिहरुको मोर्चाबन्दीको आवश्यकता रहेको महत्त्वपूर्ण राजनीतिक कार्यभारभित्र समेटिएको छ। जहाँ भनिएको छ, ‘वामपन्थी शक्तिहरुबीच सहकार्यको भावना विकास गरी मोर्चा बनाएर काम गर्दै गइ पार्टी एकताका आधारहरु निर्माण गर्नु पनि आजको एउटा महत्त्वपूर्ण कार्यभार हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।