फाइल तस्बिर।
काठमाडौं- सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ। बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा अहिले केहीबेरमा बस्नेछ।
बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुने नेताहरूले बताएका छन्। मंगलबार दिउँसो मात्र प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच छलफल भएको थियो।
त्यसपछि गठबन्धनको बैठक बोलाइएको हो। भोलिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनको तयारी छ।
शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ७१ दिन पुगिसक्दा समेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। सत्तापक्षीय दलहरुका कारण मन्त्रिपरिषद् विस्तार गर्न नसकिएको प्रधानमन्त्री देउवा निकट नेताहरुको भनाइ पाइन्छ। तर, सत्ताको नेतृत्व गरिरहेको कांग्रेस लगायतका अन्य दलका आ-आफ्नो आन्तरिक र बाह्य समस्याले लामो समयसम्म मन्त्रालयहरु मन्त्रीविहीन भएका छन्।
मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको भन्दै आलोचना हुन थालेपछि प्रधानमन्त्री देउवाले अघिल्लो हप्ता मन्त्रिपरिषद् विस्तार गर्न कसरत गरेका थिए। मन्त्रिपरिषद्लाई पूर्णता नै दिन नसकिए पनि सदस्यहरु थप्न उनले सक्रियता बढाएका थिए। तर जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देउवालाई भेटेरै तत्काल अघि नबढ्न दबाब दिएका थिए।
मन्त्रिपरिषद्लाई पूर्णता दिने वातवारण नबन्दासम्म केही सदस्यहरु मात्रै थप नगर्न दबाब बढेपछि प्रधानमन्त्री देउवा रोकिएको बालुवाटार स्रोतले जनाएको छ।
‘दबाब आएपछि प्रधानमन्त्रीज्यूले पनि सबैलाई अनुकूल हुनेगरी नै मन्त्रिपरिषद् विस्तार गरौंला भनेर त्यतिबेलाको सक्रियतालाई स्थगित गर्नुभयो', बालुवाटार स्रोतको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।