फाइल तस्बिर।
काठमाडौं– प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको आरोप लगाएका छन्।
ओलीले सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टीनिकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रन कार्यकर्तालाई निर्देशन दिए।
अनेरास्ववियको नयाँ नेतृत्वको शपथ ग्रहणका लागि मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताले भयरहित ढंगले जीवनयापन गर्न चाहेको बताउँदै त्यसका विरुद्ध सरकार लागे प्रतिवादमा उत्रनुको विकल्प नरहेको पटक पटक दोहोर्याए।
अध्यक्ष ओलीले सरकारले जनतालाई दुःख दिने काम मात्रै गरेकाले आफूहरूले आपत्ति जनाउनु परेको दाबी गरे।
‘सरकार निर्देशित, सरकार संचालित, सरकार संरक्षित गुण्डागर्दी जुन भइराखेको छ, त्यस कुराको पनि तपाईंहरूले भण्डाफोर गर्नु पर्छ। र, मैले अस्ति बोल्दा पनि भनेको छु–जनता शान्तिपूर्ण ढंगले बाँच्न चाहन्छ। एउटा न्यायपूर्ण समाज होस्, न्यायपूर्ण व्यवहार होस्’, उनले भने, ‘त्यहाँ शान्तिपूर्ण, भयरहित सम्मानजनक व्यवहार होस् भन्ने जनता चाहन्छ। शान्तिपूर्ण ढंगले जीवनयापन गर्न चाहन्छ। तर, जनतालाई त्यसरी बस्न दिँदै दिइएन भने जनताले के गर्छ? प्रतिवाद गर्नु परेन? जनता भोलि प्रतिवादमा निस्कन्छ।’
ओलीले जनताको हितमा केन्द्रित भएर अघि बढन पनि अनेरास्ववियुका नेता, कार्यकर्तालाई सचेत गराए। उनले मुलुकलाई समृद्ध बनाउने अभियानलाई लक्ष्य बनाएर युवा, विद्यार्थीहरूले अघि बढनुपर्ने आवश्यकता पनि औंल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।