फाइल तस्बिर।
काठमाडौं- एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले तीन महिने अभियान चलाउने भएको छ।
समाजवादीको आजदेखि सुरु भएको पहिलो केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता जगनाथ खतिवडाले बताए। २ दिनसम्म चल्ने बैठकमा मुख्य रुपमा तीन वटा अजेण्डामा छलफल हुने खतिवडाले बताए।
आजको बैठकमा थपिएका केन्द्रीय कमिटीका सदस्यहरुलाई शपथ गराइएको उनले बताए। पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेको र उक्त प्रतिवेदनमा पाँच वटा समूह बनाएर छलफल गरिने उनले बताए।
‘भोलि समूह छलफलको निष्कर्षसहित सुनाउने छौं। राजनीतिक प्रतिवेदन सार्वजनिक गर्ने, समसायिक प्रस्ताव पारित गर्ने, केन्द्रीय कमिटी विस्तार गर्ने र कार्यविभाजन गर्ने अजेण्डा रहेका छन्’, उनले भने, ‘आवधिक कार्ययोजना बनाउने र तीन महिने अभियान चलाएर पार्टीको पुनर्जागरण गर्ने निर्णय गरेको छ।’
देशका सबै जिल्ल्लामा पार्टीको अभियान लैजाने उनले बताए। ७७ भूगोलका जिल्ला र चार वटा विशेष जिल्ला गरि ८१ जिल्लामा र ८ प्रदेश बनाएर छलफल गर्ने उनले बताए। सबै पालिका र नगरसम्म संगठन विस्तार खतिवडाले योजना सुनाए।
निर्वाचन चिह्न नटुङ्गिएको भन्दै उनले केन्द्रीय कमिटीको वैठकमा आउने सुझाव अनुसार अघि बढाउने र निर्वाचन आयोगमा पत्राचार गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।