काठमाडौं- प्रतिनिधि सभाबाट पारित भएको बजेटसम्बन्धी विनियोजन विधेयक मंगलबार राष्ट्रिय सभामा पेस भएको छ। राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट आएको सन्देशसहित पेस गरेका थिए। राष्ट्रिय सभाको कारबाही सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरु उठेर विरोध जनाएका थिए।
एमाले सांसदहरुले विरोध जारी राखेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कारबाही अघि बढाएका थिए। एमालेले प्रतिनिधि सभामा पनि उक्त विधेयक पेस गर्दादेखि पारित हुदाँसम्म विरोध जारी राखेको थियो। एमाले सांसदहरुले प्रतिनिधि सभामा 'वेल' नै घेरेका थिए। तर, सभामुखले प्रक्रियामा लगेर उक्त विधेयक पारित गरेपछि संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा पठाइएको थियो।
अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन विधेयकअन्तर्गतको उक्त विधेयकको विरोधमा रहेको प्रतिपक्ष एमाले सांसदहरु मंगलबार झुक्किएर मतदानमा सहभागी भएका छन्। अर्थमन्त्री जनार्दन शर्माले पेस गरेका विनियोजन विधेयक प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको सुनाउँदै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गरेका थिए। सभाले स्वीकृत दिएमा मात्र पेस हुने नत्र नहुने संसदीय प्रक्रियामा उक्त निर्णयका लागि राष्ट्रिय सभा अध्यक्षले पेस गरेका थिए।


अध्यक्ष तिमिल्सिनाले निर्णयार्थ विधेयक पेस गर्दा ‘हुन्छ' र 'हुँदैन’को आधारमा मत विभाजन गरेका थिए। अध्यक्ष तिमिल्सिनाले मत विभाजन सुरु गर्दै विधेयकको पक्षमा हुनेले ‘हुन्छ’ भन्नुहोस् र नहुनेले हुन्न भन्नुहोस् भनी प्रस्ताव गरेका थिए। उनले सुरुमा विचार गरियोस् भन्ने प्रस्ताव हुन्छ भन्ने सदस्यहरुले हुन्छ भन्नुहोस् भनी आग्रह गरे। लगत्तै सत्तापक्षका सांसदहरुले हात उठाए। त्यस्तै उनले फेरि हुँदैन भन्ने पक्षकाले हुँदैन भन्नुहोस् भनी आह्वान गरे। लगत्तै संसद् चल्न नदिने भन्दै उठिरहेका एमाले सांसदले ‘हुन्न’ भनी हात उठाए। राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले हात उठाएपछि अन्य सांसदले पनि ‘हुन्न’ भन्दै हात उठाएका थिए।
त्यसअघि, संसद् बैठक सुरु हुनासाथ एमालेका सांसदहरु उठेपछि एमाले सांसद देवेन्द्र दाहाललाई अध्यक्ष तिमिल्सिनाले बोल्ने समय दिएका थिए। उनले सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने माग गरेका थिए। त्यस्तै राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोध गर्दै उनले राष्ट्रिय सभा चल्न नदिने बताएका थिए।
पहिलो बैठक एमालेले अवरुद्ध गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको थियो। दोस्रो बैठक सुरु हुनासाथ अध्यक्ष तिमिल्सिनाले विनियोजन विधेयक निर्णयार्थ पेस गरेका थिए। विनियोजन विधेयकको छलफलमा भाग नै ‘लिन्नौं’ भनी संसद्मा अवरोध गर्दागदै ‘झुक्किएर’ एमाले सांसदहरु प्रक्रियामा सहभागी भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।