काठमाडौं– प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेको छ।
मंगलबार राष्ट्रिय सभाको दोस्रो बैठकमा बोल्दै एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सभामुख सापकोटाको राजीनामा मागेका हुन्।
बैठक सुरु हुनासाथ सदाझैं एमालेका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए। त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद श्रेष्ठलाई बोल्ने अनुमति दिएका थिए।
त्यसपछि बोल्न सुरु गरेका सांसद श्रेष्ठले आफ्नो पार्टीले दलको अनुशासन तोडेका १४ जना सांसदहरुलाई कारबाही गरेको सिफारिस अनुसार उनीहरुलाई पदमुक्त नगरेर सभामुख सापकोटाले पदीय मर्यादालाई कायम गर्न नसकेको आरोप लगाए।
‘हामी सोध्न चाहन्छौं–कुनै पनि व्यक्ति आफ्नो कुर्सीमा बसिसकेपछि मर्यादा कसैले पनि उल्लंघ गर्नहुन्न। त्यो कुर्सीको गरिमालाई जोगाउनु चाहिँ पर्छ। यदि कुर्सीको गरिमालाई जोगाउन सकिन्न भने त्यो कुर्सीको महत्त्वलाई बुझ्न सकिन्न भने त्यस्तो व्यक्ति कुर्सीमा बस्न लायक हुँदैन’, श्रेष्ठले भने, ‘हामीले भनिराखेका छौं–तत्काल उहाँले निकास दिनुपर्छ। त्यो भनेको राजीनामा हो।?’
सांसद श्रेष्ठले गैरसांसदहरुलाई सांसद भनेर संसद्मा राखिन्छ भने त्यसले त्यो संसद्को र संविधानको रक्षा हुन्छ कि हुँदैन? भनी प्रश्न समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।