काठमाडौं- प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधबीच राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ टेबल भएको छ।
मंगलवारको राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुको विरोधबीच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभा समक्ष टेबल गरेका हुन्।
राष्ट्रिय सभा बैठकमा एमालेले विरोध जनाएपछि सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाललाई बोल्न समय उपलब्ध गराएका थिए।
दाहालले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि राष्ट्रिय सभामा प्रश्न उठाए। दाहालले प्रतिनिधि सभामा सभामुखले गुरिल्ला अभ्यास गरेको आरोप लगाए।
‘प्रतिनिधि सभामा सत्तापक्ष, प्रतिपक्ष, मन्त्री कहाँ बस्ने मर्यादा हुन्छ। मन्त्रीका लागि छुट्याइएको कुर्चीमा अर्थमन्त्रीलाई देखिएन। एउटा कुनाबाट आएर विनियोजन विधेयक प्रस्तुत भयो।’ अध्यादेश लागू गर्न सभामुखको पदीय भूमिका अनुसारको कार्य नगरेको उनले बताए। अध्यादेशले पार्टीहरुलाई कमजोर बनाएको उल्लेख गर्दै दाहालले भने, ‘संविधानलाई ध्वस्त पार्न सरकारले लागेको छ।’
राष्ट्रिय सभा बैठक बिहीबार २ बजे बस्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।