काठमाडौं- नेकपा एमालेका सांसदहरुले राष्ट्रिय सभा बैठक सञ्चालनमा अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको छ।
राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता नगरी सदनमा छलफल हुनुपर्ने माग एमालेको छ। बैठक सुरु हुनासाथ एमाले सांसद उठेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उक्त दलका सांसद देवेन्द्र दाहाललाई बोल्न समय दिएका थिए।
अध्यादेश तथा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति आपत्ति जनाउँदै उनले भने,‘अध्यादेशले पार्टी विभाजन गरियो। अध्यादेशबारे संसद्मा हामीले छलफल गर्न पाउनुपर्छ। फिर्ता किन गर्ने?’
एमालेले कारबाही गर्न माग गरेका १४ सांसद अर्को दल नेकपा एकीकृत समाजवादीमा आवद्ध भइसकेका छन्। तर, ती सांसदलाई एमालेले गरेको कारबाही सम्बन्धी सूचना सभामुखले टाँस नगरेर दल विभाजनका लागि सजिलो पारेको एमालेको भनाइ छ।
दल विभाजन हुनुअघि काररबाही गर्न सभामुखलाई पत्राचार गरेपनि कारबाही नभएको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ। राष्ट्रिय सभाको आजको बैठकमा एमाले सांसद दाहालले भने, ‘१४ जनालाई कारबाही भएको नाम टाँस नगरेसम्म संसद् चल्न दिँदैनौं। अवरोध खडा गरिरहन्छौं।’
आफ्नो कुरा राखिसकेकाले सदन चलाउन सहयोग गर्न राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले आग्रह गरे। अध्यक्षको आग्रहलाई एमालेका सांसदले अस्वीकार गर्दै उठेर विरोध गरिरहेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।