काठमाडौं– रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) शिवराज सुवेदीमाथि हातपात (मुक्का प्रहार) गर्ने युवक पक्राउ परेका छन्।
मेयर सुवेदीमाथि मुक्का प्रहार गर्ने गणेश पंगेनीलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीले सोमबार साँझ पक्राउ गरेको हो। पक्राउ परेका पंगेनीलाई अहिले इलाका प्रहरी कार्यालय बुटवलमै राखिएको छ।
सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ स्थित पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने क्रममा मेयर सुवेदीमाथि मुक्का प्रहार भएको थियो।
भदौ १३ मा गएको पहिरोले बुटवल–३ को ज्योतीनगर र लक्ष्मीनगर क्षेत्रमा २ दर्जन बढी घरमा क्षति पुगेको थियो। पहिरोले घरमा क्षति पुगेपछि पीडित परिवार विस्थापित हुन पुगेका थिए।
मेयर सुवेदी भने पहिरो गएको ३ सातापछि मात्रै सोमबार बिहान उक्त क्षेत्रको अवलोकन गर्न गएका थिए। पहिरोपीडितको बेवास्ता गरेको भन्दै मेयर सुवेदीकै पार्टी नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्वियूका रुपन्देही जिल्ला कमिटी सदस्य पंगेनी हातपातमा उत्रिएका थिए।
पक्राउ परेका पंगनीमाथि अनुसन्धान भइरहेको र अनुसन्धान सकिएपछि कारबाही पक्रिया अगाडि बढाइने प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।