जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा सुशासन कायम गर्न स्थायी सत्ता (कर्मचारीतन्त्र) इमान्दार हुन आवश्यक रहेको बताएका छन्।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत प्रादेशिक सुशासन केन्द्रले बर्दिवासमा आयोजना गरेको स्थानीय तहको संस्थागत स्वमूल्याङ्कनसम्बन्धी समीक्षा एवम् अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले सो कुरा बताएका छन्।
कर्मचारीतन्त्रको सहयोग विना अनियमितता (भ्रष्टाचार) हुनै नसक्ने बताउँदै मुख्यमन्त्री राउतले जनप्रतिनिधिलाई नियम कानुन बुझाउने जिम्मा समेत स्थायी सत्ता अर्थात् कर्मचारीहरुकै रहेको उल्लेख गरे।
सुशासन कायम गर्ने पहिलो खुड्किलो स्वमूल्याङ्कन रहेको उल्लेख गर्दै उनले स्वमूल्याङ्कनलाई प्राथमिकतामा राख्न स्थानीय तहका प्रशासकीय अधिकृतहरुलाई निर्देशन समेत दिए। प्रदेशका अधिकांश स्थानीय तहले स्वमूल्याङ्कन नतिजा प्रकाशन गर्न नसकेकोतर्फ संकेत गर्दै मुख्यमन्त्री राउतले भने,‘आफ्नो मूल्याङ्कन समेत हामीले गर्न सकिरहेका छैनौं, कसरी सुशासन सम्भव हुन्छ?’
जनप्रतिनिधिहरु एउटा निश्चित अवधि मात्र रहने, तर कर्मचारी लामो समय रहने भएको हुनाले सुशासन कायम गराउने ठूलो दायित्व कर्मचारीहरुकै काँधमा रहेको पनि मुख्यमन्त्री राउले बताए।
प्रदेशमा भ्रष्टाचार अन्तको लागी जनलोकपाल आयोग गठन भइसकेको जानकारी गराउँदै मुख्यमन्त्री राउतले अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही गर्ने अधिकार आयोगसँग रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।