काठमाडौं- असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच सडक खोल्न थालिएको छ।
बाढीका कारण झण्डै तीन महिना सडक अवरुद्ध थियो। सडक खुलेपछि एकातिर स्थानीयवासीलाई आवतजावत सजिलो हुनेछ भने आयोजनास्थलसम्म पुग्न सकेमा त्यहाँका संरचनाको मर्मत अघि बढ्नेछ।
मेलम्ची पुलबजारबाट अम्बाथानसम्म २२ किलोमिटर सडकमध्ये १४ किलोमिटरमा ‘ट्र्याक’ खुलिसकेको छ। अब चनौटेबाट अघि आठ किलोमिटर सडक खुलाउन बाँकी रहेको छ। चनौटेमा रातो पुल बगाएपछि त्योभन्दा अगाडिको सडक खुलाउन नसकिएको हो।
पुलबजारबाट ट्र्याक खोल्दै जाँदा चनौटेबाट अम्बाथानसम्म थप दुई पुल बगाएको छ। त्यहाँ बेलिब्रिज नबनाएसम्म यातायात चालू नहुने देखिएको छ। केही दिन पहिलेदेखि चनौटेसम्म सवारीसाधन चल्न थालेको छ। यहाँको न्वार खोलामा सडक कटान भएकाले अहिले साना गाडी मात्रै चलिरहेका छन्। न्वार खोला क्षेत्रमा मर्मत गरिएपछि चनौटेसम्म नै ठूलो गाडी चल्नसक्ने बताइएको छ।
चनौटेसम्म यात्रुबाहक बस चल्न थालेमा हेलम्बुका गाउँपालिकाका–४, ५, ६ र ७ का बासिन्दालाई सजिलो हुनेछ। केही समय पहिलेसम्म आवतजावत नै अवरुद्ध भएकामा अहिले काठको पुल राखेर चालू गराइएको छ।
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति भएको भनिए पनि त्यसको यकीन हुन सकिरहेको छैन। आयोजनास्थलसम्म पहुँच सडक सम्पन्न नभएकाले क्षति यकीन हुन नसकेको खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले बताए।
उनका अनुसार पहिलेको पहुँच सडक पूरै पुरिएकाले नयाँ ट्र्याक खुलाउन लागिएको छ। पहिले सडक भएको ठाउँको नजिकै नै हुने गरी सडक खुलाइने उनले बताए। उनले भने, 'सबै पुरिएकाले पहिले र अहिले भन्ने देखिएको छैन, त्यसैको हाराहारीमा खुलाइरहेको छौं।'
पहिलो पटक असार १ गते आएको बाढीले आयोजनामा क्षति पुर्याएको थियो। त्यतिबेला झण्डै एक अर्बको क्षति भएको अनुमान गरिएको थियो। साउन महिनामा पटकपटक बाढी जाँदा झण्डै दुई अर्ब ४० करोडको क्षति भएको आयोजनाले जनाएको छ।
प्रारम्भिक अनुमानका आधारमा क्षतिको अनुमान गरिएको भएपनि प्राविधिक आयोजनास्थलसम्म जान नसकेकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रवक्ता न्यौपानेले बताए। पहुँच सडक बनेर त्यहाँसम्म पुगेपछि नै केके क्षति भएको हो र त्यसको मर्मतमा कति खर्च लाग्छ भन्ने थाहा हुने उनले बताए।
उपत्यकामा रहेको खानेपानीको समस्या समाधानकै लागि मेलम्चीको पानीको विकल्पमा पनि छलफल भइरहेको छ। काठमाडौं उपत्यका र उपत्यका आसापासका क्षेत्रमा रहेका मुहानको खोजी गरेर त्यसको अध्ययन गर्ने गरी मन्त्रालयमा छलफल भइरहेको प्रवक्ता न्यौपानेले बताए।
आयोजनास्थलमा मर्मत गरिसक्न कम्तीमा पनि चैत महिनासम्म लाग्ने देखिएको छ। कताको पानी ल्याएर उपत्यकावासीलाई सजिलो बनाउने भनी विकल्पमाथि छलफल भइरहेको छ। मेलम्चीको विकल्पका विषयमा विगतमा पनि छलफल भइरहेकामा अहिले अध्ययनमा नै जाने योजना बनाइएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।