काठमाडौं- नेकपा एमालेले प्रतिनिधि सभाको अवरोध हटाउनका लागि सभामुख अग्निप्रसाद सापकोटासँग दुइटा विकल्प रहेको बताएको छ। नेकपा एमालेले गत भदौ २३ गतेदेखि जारी राखेको अवरोधलाई सोमबार पनि निरन्तरता दिएको थियो।
'सभामुखका सामुन्नेमा दुइटा विकल्प छन्। पहिलो, उहाँले विलम्ब गरेर भए पनि, आफूलाई आत्मालोचित गरेर भए पनि उहाँले त्यो टाँस्नै पर्छ। अन्यथा उहाँहरुले मार्गप्रशस्त गर्नुपर्छ,' सोमबारको प्रतिनिधि सभा बैठकपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने।
एमालेले निष्कासन गरेका सांसद्लाई सभामुखले सूचना टाँस नगरिदिएका कारण पार्टी विभाजन भएको बुझाइमा रहेको एमालेले उनको भूमिकालाई लिएर आलोचना गर्दै आएको छ।
'हामीले उहाँसँग अतिरिक्त सहयोग खोजेको होइन। खालि अरु सरहको व्यवहार एमालेलाई गरिदिनुस् भन्ने मात्रै हाम्रो माग हो,' उनले भने, 'उहाँले त्यही नगरेको कारणले एमालेले सहेर बस्न सकेन। जे गर्दा पनि सहनुपर्छ भनेर हामीलाई जनताले पनि भनेका छैनन्। विभेदका विरुद्धमा हामीले बोल्नैपर्छ।'
सत्तापक्ष र सभामुखले आफूहरुसँग कुनै किसिमको संवाद नगरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।