काठमाडौं– पहिरो पीडितलाई बेवास्ता गरेको भन्दै बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि नगरका बासिन्दाले हातपात गरेका छन्।
भदौ १३ मा गएको पहिरोले बुटवल–३ को ज्योतीनगर र लक्ष्मीनगर क्षेत्रमा दुई दर्जन बढी घरमा क्षति पुगेको थियो। पहिरोले घरमा क्षति पुगेपछि पीडित परिवार विस्थापित हुने पुगेका थिए। उक्त क्षेत्रको अवलोकन गर्न मेयर सुवेदी भने करिब तीन सातापछि मात्रै पुगेका थिए।
पहिरो पीडितको बेवास्ता गरेको भन्दै मेयरमाथि एक व्यक्तिले मुक्का हानेका थिए। सुरक्षाकर्मीले आक्रोशित युवाबाट मेयर सुबेदीलाई जोगाएका थिए। ‘पहिरो गएको क्षेत्रमा अवलोकन गर्न जाँदा एउटा महा पटमुर्खले हात हाल्न खोज्यो,’ मेयर सुवेदीले नेपाल लाइभसँग भने, ‘सुरक्षाकर्मीले पटमुर्खबाट मलाई जोगाए।’
मेयर सुवेदीले भने पहिरो पीडितलाई बवास्ता नगरेको दाबी गरे। बुटबल उपमहानगरपालिका बाहेक अन्य कसैले पहिरोको लागि सिन्को नभाँचेको उनको दाबी छ।
केही दिनअघि दोलखाकाको मेलुङ गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठलाई स्थानीयवासीले हातपात गरेका थिए। एम्बुलेन्सबाट बिरामी लैजान गाह्रो भएपछि फोन गर्दा अध्यक्ष श्रेष्ठले आफू चरिकोट भएको प्रक्रिया दिएका थिए।
चरिकोट छु भनेका श्रेष्ठ गाउँपालिकामै भेटिएपछि बाटोमै स्थानीयवासीले कठालो समाएर कुटेका थिए। बिरामीलाई काठमाडौं उपचार गर्न एम्बुलेन्सबाट सम्भव नभएपछि स्थानीयवासीले गाउँपालिका अध्यक्षलाई फोन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।