काठमाडौं- नेकपा एमालेले आफ्नो सरकारका पालामा तय गरिएका योजनालाई वर्तमान सरकारले काटेको आरोप लगाइरहेको बेला अर्थमन्त्री जनार्दन शर्माले कुनै पनि योजना नकाटिएको प्रष्ट पारेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकबाट विनियोजन विधेयक पारित भएपछि प्रतिक्रिया दिँदै उनले बजेट रोक्नेलगायतका काम नगरेको बताए।
'तीन प्रतिशत बजेट, त्यो पनि योजना काटेर नभई राजस्व बढाउने लक्ष्य राखेर व्यवस्थापन गरेकोबाहेक केही गरेको छैन,' उनले भने, 'हामी पूर्वाग्राही छैनौं। पूर्वाग्राही छन् कि भनेर उहाँहरु (प्रमुख प्रतिपक्ष)लाई शंका लागेको होला। उहाँहरुले भोलिपर्सि सबै योजना देखेपछि होइन रहेछ भन्नुहुन्छ।'
अर्थमन्त्री शर्माले प्रतिपक्षीसँग सौहार्दपूर्ण वावतारण बनाउने बताए। 'निरन्तर वार्ता गर्ने हो। सर्वदलीय बैठक बसेको यहाँहरुलाई थाहा छ। कानुनमन्त्रीले निरन्तर वार्ता गर्नुभएको यहाँहरुलाई अवगतै छ। हामीले वार्ता र संवादलाई निरन्तरता दिइराखेका छौं,' उनले भने।
बजेट लामो समय रोकिराख्यो भने सबै कुरा ठप्प हुने भएकाले यसलाई सँगसँगै लैजानुपर्ने बाध्यता रहेको उनले बताए। प्रतिपक्षलाई मिलाएर वार्ता र संवादबाट राष्ट्रिय एकता कायम गरी अगाडि बढ्ने सरकारको नीति भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।