काठमाडौं- पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न सरकारले प्रतिनिधि सभामा टेबल गरेका विधेयकमध्ये विनियोजन विधेयक सोमबार एमाले सांसदहरुको अवरोधकै बीच बहुमतबाट पारित गरिएको छ।
अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक, २०७८ सोमबारकाे प्रतिनिधि सभा बैठकबाट पारित गरिएको हो।
प्रतिनिधि सभाको सोमबारको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको थियो। बैठक सुरु भएदेखि नै वेल घेराउ गरेर नाराबाजी गरिरहेका एमाले सांसद्हरुलाई बेवास्ता गर्दै विनियोजन विधेयक पारित गरिएको हो।
विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय लगायतका खर्च रकम घटाइयोस् भन्ने प्रस्तावमाथि नेमकिपाका सांसद् प्रेम सुवालले धारणा राखेका थिए।
अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएसँगै विधेयक पारित गर्ने बाटोमा अघि बढेको थियो। मन्त्री शर्माले भदौ २५ गतेको बैठकमा सो विधेयक टेबल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।