काठमाडौं– नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले जाजरकोटमा पनि संगठन विस्तार गरेको छ। आइतबार कृष्ण बिसीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको हो।
सदरमुकाम खलंगामा गरिएको कार्यकर्ता भेलाबाट अध्यक्षमा बिसी, उपाध्यक्षमा कमानबहादुर खड्का, सचिवमा गंगाबहादुर शाही र उपसचिवमा मानबहादुर बुढा चयन भएका छन्।
अध्यक्ष चयन भएका बिसी जाजरकोटमा एमालेका संस्थापक नेता एवं तत्कालीन जिल्ला विकास समितिका पूर्वउपसभापति हुन्।
उनले २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट तत्कालीन क्षेत्र नम्बर २ को टिकट पाएका थिए। यद्यपि, उनी पहिलो संविधानसभा निर्वाचनमा माओवादी र दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका उम्मेदवारसँग झिनो मतले पराजित भएका थिए।
यस्तै, उपाध्यक्ष चयन भएका खड्का एमालेका जिल्ला कमिटी सदस्य थिए। उनी तत्कालीन खलंगा गाउँ विकास समितिको उपाध्यक्ष समेत हुन्। हाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका खड्का जाजरकोट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन्।
सचिव चयन भएका शाही यसअघि विभिन्न सामाजिक संघ संस्थामा आवद्ध थिए। उनले अनेरास्ववियुबाट राजनीति सुरु गरेका थिए। यस्तै, उपसचिव चयन भएका बुढा पनि एमालेको जिल्ला कमिटी सदस्य थिए।
जिल्ला भेलालाई एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले सम्बोधन गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।