काठमाडौं– स्पेनिस ला लिगाअन्तर्गत रियल मड्रिडले जित हात पारेको छ। आइतबार राति सम्पन्न खेलमा रियलले भ्यालेन्सियालाई २–१ गोल अन्तरले पराजित गरेको हो।भ्यालेन्सियाको मैदानमा सम्पन्न खेलमा सुरुवाती अग्रता उल्ट्याउँदै रियलले जित निकालेको हो।
रियलको जितमा भिनिसियस जुनियर र करिम बेन्जिमाले एक/एक गोल गरे भने भ्यालेन्सियाका लागि हुगो डुरोले गोल गरेका थिए।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ६६औं मिनेटमा हुगोले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए।
खेलको ८६औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई बराबरीमा ल्याए। उनले बेन्जिमाको पासमा गोल गरेका थिए। खेलको ८८औं मिनेटमा भिनिसियसको पासमा बेन्जिमाले गोल गर्दै रियललाई २–१ को जित दिलाए।
लिगमा रियलको यो चौंथो जित हो। जितसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।एक खेल बराबरी खेलेको रियलले ५ खेलबाट १३ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।