काठमाडौं– प्रतिनिधिसभाको बैठक आज बस्दै छ। नेकपा एमालेको अवरोधका कारण यसअघि नियमित सञ्चालन हुन नसकेको बैठक आजका लागि बोलाइएको छ।
आज ११ बजेका लागि बोलाइएको बैठकमा बजेटप्रतिस्थापन विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधबीच सरकारले आजको बैठकमा विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ।
सोमबार बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकअन्तर्गत सम्पूर्ण शीर्षकमाथि छलफल गर्ने सम्भावित कार्यसूची छ।छलफलपछि आजै विनियोजन विधेयक पारित गर्ने सरकारी तयारी छ। एमालेको नाराबाजीकै बीच भदौ २७ गतेको बैठकमा प्रतिस्थापन विधेयक मार्फत बजेट संशोधन गरेको थियो। बजेट पारित हुन नसक्दा भदौ ३० गतेदेखि मुलुकमा ‘बजेट होलिडे’ चलिरहेको छ।
एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ। उक्त सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई एमालेले आग्रह गरिसकेको छ।
एमालेले भदौ २३ गतेदेखि संसदमा निरन्तर अवरोध र नाराबाजी गर्दै आएको छ। सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध हटाउन भनी गरेको सर्वदलीय बैठकसमेत एमालेले बहिष्कार गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।