काठमाडौं– संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै रहने भएको छ।
आइतबारदेखि शुरु भएको पार्टीको स्थायी कमिटीको बैठकमा उमेर हद आगामी महाधिवेशनमा पनि कायमै राख्ने प्रस्ताव पेस भएको छ।
एमालेका एक स्थायी कमिटी सदस्यका अनुसार उप–महासचिव विष्णु पौडेल नेतृत्वको समितिले पेस गरेको विधान संशोधन प्रस्तावमा उमेर हद कायमै राखिएको छ।
यस्तै, एमालेको स्थायी कमिटीको बैठकमा पेस भएको विधान संशोधन प्रस्तावमा महाधिवेशनबाट नै केन्द्रीय कमिटीका पदाधिकारी निर्वाचित गर्ने उल्लेख गरिएको छ।
एमालेको आन्तरिक विवादमा असन्तुष्ट नेताहरु सहभागी नहुने अघिको बैठकले भने अध्यक्ष र केन्द्रीय कमिटीका सस्दय महाधिवेशनबाट निर्वाचित हुने र त्यसपछि पदाधिकारी मनोनयन गर्ने गरेर संरचना निर्माणको काम अघि बढाइएको थियो।
तर, तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका नेताहरु पनि एमालेमै रहने भएपछि उक्त प्रस्तावमाथि पुनर्विचार गरेर बैठकमा प्रस्ताव पेस भएको हो।
एमालेको असोज १५ देखि १७ गते सम्म आयोजना हुन लागेको विधान महाधिवेशनले उक्त प्रस्ताव पारित गरेमा ७० वर्षे उमेर हदसँगै निर्वाचित हुने कमिटी व्यवस्था कार्यान्वयनमा जाने छ।
ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकमा पेस भएको विधान संशोधन, राजनीतिक प्रतिवेदन र संगठनात्मक प्रतिवेदनमाथी स्थायी कमिटीका सदस्यहरुले धारणा राख्ने क्रम शुरु भएको छ।
नेकपा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले सोमबार पनि बैठक बस्ने र बाँकी स्थायी कमिटीका सदस्यहरुले पनि आफ्नो धारणा राख्ने बताए।
आइतबारको बैठकमा उपाध्यक्ष युवराज ज्ञवाली, उप–महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु केशव बडाल, अमृत बोहोरा, पुष्प कँडेलले आफ्नो धारणा राखेका थिए।
नेकपा एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव एवं केन्द्रीय सदस्य शेरबहादुर तामाङले स्थायी कमिटी बैठकमा पेस भएको प्रस्तावमा ७० वर्षे उमेर हद कायमै रहेको बताए।
‘७० वर्षको प्रावधान कायमै रहन्छ। महाधिवेशनले के गर्छ त्यसपछि थाहा हुन्छ,’ उनले भने,‘स्थायी कमिटी तहमा अहिले छलफल चलिरहेको छ। लगत्तै बस्ने केन्द्रीय कमिटी टुंगो लगाएपछि विधान महाधिवेशनमा पेस हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।