फाइल तस्वीर
काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी यही साताभित्र सरकारमा सहभागी हुने बताएका छन्। अध्यक्ष नेपालले यही साताभित्रै पार्टीका तर्फबाट सरकारमा मन्त्री पठाइने बताए।
संविधान दिवसका अवसरमा एकीकृत समाजवादीको कास्की जिल्ला समितिले आइतबार पोखरामा आयोजना गरेको 'गणतन्त्र एवं संविधान रक्षाका निम्ति पार्टीको भूमिका' विषयक विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले अहिलेको ५ दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्म कायमै राखिने पनि बताए।
'विगतको सरकारले जनताका पीडालाई राम्रोसँग सम्बोधन गरेन। अहिलेको गठबन्धनको सरकारले विगतका गल्तीलाई दोहोर्याउनु हुँदैन। गठबन्धन बलियो बनाउँदै जनताको सेवामा लाग्नु पर्दछ,' नेपालले भने।
अध्यक्ष नेपालले पुनः एमालेमा फर्केर जाने कुरा नसोच्न पनि कार्यकर्तासँग आग्रह गरे। 'असली कम्युनिस्ट पार्टी हामी हौं, अरुले कम्युनिस्ट पार्टीको मर्ममा चोट पुर्याएका छन्, पार्टीलाई थिलथिलो र बदनाम गरे । हिजोका कुरा सम्झेर हुँदैन, फर्केर जाने कुरा नसोच्नुहोस्, अब जम्मै ढोका बन्द भइसक्यो।'
प्रचार गरिएजस्तो माओवादी केन्द्रसँग पार्टी एकता नहुने बताउँदै अध्यक्ष नेपालले कुनै पार्टीसँग एकता नगरी आफ्नै शक्तिका आधारमा अघि बढ्ने उल्लेख गरे। गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता लगायतका परिर्वतनका उपलब्धिहरुको रक्षा गर्नु आवश्यक रहेको पनि नेता नेपालले बताए।
प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वोच्चको फैसला ऐतिहासिक र नेपालको इतिहासमा संविधानवादको कोसेढुङ्गाका रूपमा दर्ज हुने उल्लेख गर्दै उनले सर्वोच्चले संविधानको सही व्याख्या गरेको बताए। 'संविधान मिच्ने छैनौं, यसको पालना गर्नेछौँ तथा संविधानको मूल्य र मान्यताको रक्षा गर्दै यसको मर्म र भावनाको सही प्रयोग हाम्रो पार्टीले गर्नेछ,' नेपालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।