रसुवा– चिनियाँ सुरक्षा अधिकारीहरुले रसुवाका प्रमुख जिल्ला अधिकारीको हातबाट दशैंको टीका ग्रहण गरेका छन्।
सोमबार जिल्ला प्रशासन कार्यालय रसुवामा चिनियाँ सुरक्षा टोलीले प्रजिअ हिरादेवी पौडेलको हातबाट टीका ग्रहण गरेका हुन्। चिनियाँ आर्म पुलिस फोर्सका कर्नेल गाओको नेतृत्वमा आएका ६ जना सुरक्षा अधिकारीलाई जिल्ला प्रशासन कार्यालयमै दशैंको टीका लगाइएको हो।
नेपाली हिन्दू धर्मावलम्वीहरुको ठूलो चाड दशैंमा मान्यजनको हातबाट टीका थाप्ने चलनलाई चिनियाँ सुरक्षा अधिकारीले खुसीका साथ मनाएका छन्।
चिनियाँ प्रतिनिधिले पनि नेपाल र चीनबीचको सम्बन्ध सुमधुरका लागि भन्दै टीका लगाएको बताए।
चिनियाँ सुरक्षा अधिकारीलाई टिका लगाउनुअघि प्रजिअ पौडेलले दशैं पर्वको महत्वबारे बताएकी थिइन्। टीका लगाउँदै प्रजिअ पौडेलले चाडपर्वलाई लक्षित गर्दै चीनबाट नेपालतर्फ सामान आयातमा चिनियाँ पक्षले सहजीकरण गरेकोमा धन्यवाद दिइन्।

पहिलो पटक नेपालीको पर्व दशैंको टीका थापेका आर्म पुलिस फोर्सका कर्नेल गाओले खुसी हुँदै नेपाल र चीनबीचको सम्बन्ध सुमधुर हुनुका साथै व्यापारमा सहजीकरण हुने बताए।
चिनियाँ पक्षले ल्होसार, नयाँ वर्ष लगायतका पर्व मनाउने गरेका छन्। विशेषगरी वौद्धमार्गी र धर्मनिरपेक्षतामा जोड दिने चिनियाँ नागरिक रातो टीका लगाउन रुची राख्दैनन्।
चलन नभए पनि नेपालीको रहनसहन बुझ्न, नेपालीको संस्कारलाई माया गर्दै दुई देशबीचको सम्बन्धका लागि टीका ग्रहण गरेको कर्नेल गाओले बताए।
टीका कार्यक्रममा रसुवाका प्रहरी प्रमुख डिएसपी शरतकुमार थापा, सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मका प्रमुख प्रकाश वाग्ले लगायत नेपाली सुरक्षाकर्मीको पनि सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।