काठमाडौं- नेकपा (एमाले)को स्थायी कमिटीको आइबारको बैठक सकिएको छ। च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावहरुमाथि छलफल प्रारम्भ भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ सम्मका लागि तय गरिएको छ। त्यसमा तीन वटा प्रस्ताव पेस हुने भट्टराईले बताए। 'विधान संशोधनसम्बन्धी, राजनीतिक प्रतिवेदनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल सुरु भएको छ,' उनले भने।
स्थायी कमिटीमा सुरु भएको प्रस्तावहरुमाथिको छलफलमा आज अमृत बोहरा, केशव बडाल, पुष्प कडेल, घनश्याम भुसाल र युवराज ज्ञवालीले आफ्नो विचार प्रस्तुत गरेका थिए।
बैठक भोलि पनि बस्नेछ। 'बाँकी स्थायी कमिटी सदस्यले आफ्नो सुझाव राखेर यो प्रतिवेदनलाई आवश्यक सुझावको आधारमा परिमार्जन गरेर ८ र ९ गते आयोजना हुने केन्द्रीय कमिटीको बैठकमा पेस हुनेछ। र, केन्द्रीय कमिटीमा आएका सुझावहरुलाई समेत समावेश गरीकन असोज १५, १६ र १७ गतेको राष्ट्रिय विधान महाधिवेशनमा दस्तावेजहरु प्रस्तुत हुने छन्,' भट्टराईले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।