नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले शनिबार सुनिता बराललाई संगठनको अध्यक्ष चयन गर्यो। आधा दर्जनभन्दा धेरै आकांक्षीलाई उछिन्दै बराल अखिलको इतिहासमा तेस्रो महिला अध्यक्ष बनिन्। उनी झापाकी भएकाले एमाले अध्यक्ष केपी शर्मा ओलीको दबाबमा अध्यक्ष बनाइएको टिप्पणी पनि हुन थालेको छ। अखिलका पूर्वअध्यक्षदेखि केही नेताहरुले यस विषयमा सार्वजनिक रुपमै असन्तुष्टि जनाएका छन्। तर, बराल भने आफू सबैको सहमतिमा अध्यक्ष बनेको दाबी गर्छिन्। अनेरास्ववियुको अध्यक्ष बनेपछि बरालसँग नेपाल लाइभले गरेको संक्षिप्त कुराकानी :
अनेरास्ववियुमा प्रायः निर्वाचनबाट नेतृत्व आउने गर्थ्यो। तर, योपटक तपाईं फरक बाटोबाट अध्यक्ष चयन हुनुभयो। किन यस्तो?
एमाले विभाजन भएपछि एकखालको राजनीतिक परिस्थिति छ। त्यसको असर हाम्रो संगठनमा पनि अलिअलि पर्ने नै भयो। अनेरास्ववियुको नेतृत्व चयन गर्ने भएपछि यहाँभित्र एकखालको 'अण्डरस्ट्याण्डिङ' भयो। मेरो राजनीतिक परिपक्वता, संगठनमा भएका सहकर्मीहरुको साथ र समर्थनले मलाई अध्यक्ष बनाउने अवस्था आयो। निर्वतमान अध्यक्षले पनि सहज रुपमा हस्तारन्तरण गर्न तयार हुनुभयो। सर्वसम्वत बनाउन पार्टी नेतृत्वले सहयोग गर्यो। मुख्य रुपमा मेरा सहयोद्धाहरुले मलाई अनेरास्ववियुको नेतृत्व गर्नुस्, हामी पार्टीमा भएपनि काम गर्न तयार छौं भनेपछि यो अवस्था आएको हो।
अनेरास्ववियुमा रहेका पुराना नेता र आकांक्षीमध्येका धेरै ‘पुरुष’ सहकर्मीलाई उछिनेर नेतृत्वमा आउनुभएको छ। कस्तो अनुभूति भइरहेको छ?
यो महिला-पुरुष भन्दा पनि संगठनको नियमित प्रक्रियाबाट नेतृत्वमा आएको हुँ। तुलनात्मक रुपमा महिला कम नेतृत्वमा पुगेका छौं, त्यसैले पनि यस्ता प्रश्न सोधिएको होला। त्यस हिसाबले महत्त्वपूर्ण हुन सक्छ। तर, नेतृत्वमा आउने विषयलाई महिला–पुरुषको रुपमा हेर्नु हुँदैन। यसलाई संगठनमा लागेको योगदान संघर्षलाई पनि मूल्यांकन गर्नु पर्ने हुन्छ। यसरी एउटा गौरवपूर्ण इतिहास बोकेको संगठनको अध्यक्ष हुँदा खुशी हुने कुरा भइहाल्यो। स्वभाविक रुपमा खुशी नै छु।
अखिलमा अन्य निवर्तमान उपाध्यक्षहरू र धेरै नेता अध्यक्षको दाबेदार थिए। तर, तपाइँले बाजी मार्नुभयो। कसरी सहज भयो?
मसँगैका अनेरास्ववियुका उपाध्यक्षहरू संगठनबाट विदा हुनुभएको छ। त्यसले पनि सहज बनायो। उहाँहरुसँग राजनीतिक यात्रा लामो छ। जहाँ जस्तो अवस्थामा भएपनि पार्टीमा सँगै हुनेछौं। भोलि संगठनमा आवश्यक सल्लाह, सुझाव लिनुपर्ने भएमा उहाँहरुले सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ। उहाँहरूसँग छलफल, कुराकानी, परामर्श भइरहन्छ। एउटा कुरा हामी राजनीतिक संस्कार स्थापना गर्न सफल भएका छौं। त्यसमा खुशी हुनु पर्छ। सर्वसम्त रुपमा अनेरास्ववियुको नेतृत्व चयन भएको छ। गुटउपगुटमा विभाजित भएको छैन।
निर्वाचनमा प्रतिष्पर्धा गरेर आउँदा नेतृत्व संगठन र मुद्दाप्रति उत्तरदायी हुन्छ तर, ‘टिके’ प्रथाबाट आउँदा संगठन र मुद्दाभन्दा गुटको नेताप्रति बफादार हुनुपर्छ भनिन्छ। यसलाई कसरी चिर्नुहुन्छ?
अनेरास्ववियुमा आज त्यो अवस्था छैन। पार्टीमा अहिले गुट पनि छैन। अहिले सर्वसम्वत रुपमा नेतृत्व टुंगिएको छ। निर्वाचनबाट मात्रै विद्यार्थी नेतृत्व परिपक्व हुन्छ भन्ने कुरालाई स्थापित गर्नु हुँदैन। अहिले नेतृत्वमा भएका साथीहरुबीच सहमतिबाट गरियो। सर्वसम्मत रुपमा नेतृत्वमा आउने एउटा प्रक्रिया हो। सहमतिबाट नेतृत्वमा आउनु लोकतन्त्रको सबैभन्दा उत्तम विधि हो। त्यसमा सबै साथीहरुले सर्वसम्त हुने कुरामा सहमति जनाउनु भएको छ।
सबै साथीहरुले हार्दिकता देखाउनु भएको छ। त्यस विषयलाई उच्च राजनीतिक संस्कारका रुपमा बुझ्नुपर्छ। हामीले मुख्य रुपमा विद्यार्थी र शैक्षिक मुद्दामा केन्द्रित हुने हो। त्यसैले कोही नेतासँग जोडिने, नजोडिने कुरा व्यक्तिगत हुन सक्छ। राजनीतिक नेतासँगको सम्बन्ध र सहकार्य फरक कुरा हो। त्यसलाई गुट, उपगुटको रुपमा व्याख्या गर्नुहुन्न।
अब तपाईंका प्राथमिकताहरू के के छन्?
म भर्खरै अनेरास्ववियुको अध्यक्ष भएको छु। सबै विषयलाई प्राथमिकीकरण गरेर योजना बनाउने छु। त्यसलाई सबै योजना बनाएर आमविद्यार्थी साथीहरुको सहयोगमा ती शैक्षिक मुद्दालाई अघि बढाउने छु। अहिले विद्यालयदेखि विश्वविद्यालयसम्मका शैक्षिक विकृति र विसंगतिका विरुद्ध सम्झौताहीन लडाईं लड्नु पर्ने छ। आम श्रमजीवी जनताका छोराछोरी पढ्ने सरकारी शैक्षिक संस्थालाई व्यवस्थित, गुणस्तरी र सर्वसुलभ बनाउनु छ। त्यसका लागि आमविद्यार्थी साथीहरुको सहयोगमा शैक्षिक मुद्दालाई केन्द्रमा राखेर काम गर्ने छु।
संविधनमा विद्यालय तहसम्मको शिक्षा निःशुल्क हुनु पर्छ भन्ने उल्लेख गरिएको छ। त्यसलाई लागू गर्न प्रत्यन्त गर्ने छु। विद्यालय तहको शिक्षा पढेर एउटा विद्यार्थी आफैं बाँच्न सक्नेगरी विकास गर्नु पर्ने छ। त्यसमा आफ्नो तर्फबाट पहल गर्ने छु।
अहिले विश्वविद्यालयको शिक्षालाई जीवन उपयोगी बनाउन सकिएको छैन। त्यसमा पर्याप्त खोज अनुसन्धान गरेर जीवन उपयोगी बनाउनु पर्ने छ। विश्वविद्यालयमा विभिन्न विषयका विज्ञ उत्पादन गर्ने थलोको रुपमा विकास गर्नु छ। अरु शैक्षिक क्षेत्रका नीतिगत सुधारमा ध्यान केन्द्रित गर्न आफ्नो तर्फबाट पहल गर्ने छु। यस्ता विषयमा शिक्षा मन्त्रालयदेखि विश्वविद्यालयसँग समन्वय गरेर अघि बढिनेछ। यस्तै, सामाजिक क्षेत्रमा देखिएका विभिन्न विकृति र विसंगतिका विरुद्ध खबरदारी गर्ने छौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।