काठमाडौं– नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले संसदलाई चल्न नदिने अराजकतावादी प्रवृति अहिले पनि देखा परिरहेको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै नेता खनालले यस्ता प्रवृतिविरुद्ध दृढतापूर्वक संघर्ष गरेर अघि बढ्नुपर्ने बताएका छन्।
‘यस बिचमा संविधानमाथि एकपछि अर्को कुठाराघात गरियो, सर्वोच्च विधायिकालाई पटक–पटक असंवैधानिक रुपले विघटन गरियो। मुलुकमा स्थापित लोकतान्त्रिक प्रक्रियालाई खल्बल्याउने काम गरियो र मुलुकलाई अस्थिरता तर्फ धकेल्न खोजियो,’उनले भनेका छन्,‘तर हाम्रो पार्टी लगायत सबै लोकतान्त्रिक पार्टीहरूको संयुक्त प्रयत्न, नेपाली जनताको दृढ संघर्ष तथा न्यायलयको ऐतिहासिक निर्णयले गर्दा मुलुक पुनः राजनीतिक स्थिरता तिर फर्केको छ।’
नयाँ गठबन्धन सरकार बनेको र संविधान बमोजिम मुलुकलाई अग्रगतितर्फ अघि बढाउने प्रयत्न भइरहेको उनले उल्लेख गरेका छन् । ‘यद्यपि अस्थिरतावादी तत्वहरु अहिले पनि षड्यन्त्रका विभिन्न तानाबाना बुनिरहेका छन्। संसदलाई चल्न नदिने अराजकतावादी प्रवृति पनि देखापरिरहेका छन्,’उनले भनेका छन्,‘यस्ता प्रवृत्तिविरुद्ध दृढतापूर्वक संघर्ष गर्दै संविधानको रक्षा, लोकतान्त्रिक मूल्य मान्यताहरूको रक्षा, राष्ट्रियताको रक्षा तथा अग्रगमन तर्फको यात्रालाई कायम राख्दै मुलुकलाई समाजवाद र समृद्धितिर अघि वढाउनु नै आजको आवश्यकता बनेको छ।’
संविधान सभामार्फत गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान जारी भएको ६ वर्ष पूरा भएको ऐतिहासिक दिनको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामनासमेत व्यक्त गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।