काठमाडौं– नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा नेतृत्व चयनको विषयलाई लिएर असन्तुष्टि देखिएको छ। अनेरास्ववियुको २२औं महाधिवेशनबाट अध्यक्ष चुनिएकी पूर्व अध्यक्ष नविना लामाले नै असन्तुष्टि जाहेर गरेकी छन्।
त्यस्तै अन्य विद्यार्थी नेताहरुमा पनि नेतृत्व चयनको विषयलाई लिएर असन्तुष्टि देखिएको छ। सामाजिक सञ्जालमा उनीहरुले यसबारे असन्तुष्टि देखाएका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि अनेरास्ववियुकी अध्यक्ष लामाले संगठनबाट बिदा लिएकी थिइन्।
त्यसपछि महासचिव ऐन महरलाई एकतापछि अनेरास्ववियुको अध्यक्ष चयन गरिएको थियो। सर्वोच्च अदालतले पूर्ववत् अवस्थामा नै फकाइदिएपछि महर नै अनेरास्ववियुको अध्यक्ष भएका थिए।
शनिबारदेखि उनले अनेरास्ववियुबाट बिदा लिएका छन्। राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने ठाउँमा २३औं सम्मेलन तोकेर अनेरास्ववियुको नेतृत्व पुनर्गठन भएको हो। यो निर्णयको पूर्वअनेरास्ववियुका विद्यार्थीले विरोध गरेका छन्। ‘अब झन यस्तो परिस्थितिमा पनि हाम्रो कम्युनिष्ट पार्टी एमालेमा निष्ठावान् कार्यकतालाई न्यायको ढोका बन्द हुँदै गएको र विभेदले सिमा नाँघेको अनुभुति भयो,’ अनेरास्ववियुकी पूर्व अध्यक्ष लामाले लेखेकी छन्, ‘चाकरीबाद मुर्दावाद।’ नेतृत्व पुनःगठनको विषयमा असन्तुष्टि जनाएपछि उनी अनेरास्ववियुको शुक्रबार बसेको स्थायी कमिटी र शनिबारको सचिवालयको बैठकमासमेत अनुपस्थित भएकी थिइन्।
संगठनमा सिनियर रहेका रश्मी आचार्यलाई नेतृत्व दिनुपर्ने कतिपय नेताहरुको अडान थियो। तर, अध्यक्ष ऐन महरसहित उपाध्यक्षलाई बिदा गरेर शनिबार बसेको सचिवालय बैठकले सुनिता बराललाई अध्यक्ष चयन गरेको हो। एमाले नेताहरुले भने अहिले बिदा भएका उपाध्यक्षसहितका अखिलका नेताहरुलाई पार्टी कमिटीमा जिम्मेवारी दिने बताएका छन्। अहिले पुनः गठन भएको अनेरास्ववियुको नेतृत्वले नै आगामी चैत २२, २३ र २४ मा तोकिएको २३औं राष्ट्रिय सम्मेलनको आयोजना गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।