काठमाडौं– जनताको सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयनमार्फत नै समाजवाद स्थापना गर्न सकिने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन्।
संविधान दिवसको अवसरमा शुभकामना दिँदै अध्यक्ष नेपालले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आआफ्नो तर्फबाट इमानदार प्रयास गर्नसमेत सबैमा आह्वान गरेका छन्। ‘संविधान जारीपछि मुलुकको राज्य संरचना र शासनसत्तालगायतमा ठूलो परिवर्तन तथा सुधार भए पनि अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्ति संविधान विरुद्ध लागिरहेको हामी सबैले अनुभूति गरिरहेका छौं,’ उनको सन्देशमा उल्लेख छ।
पूर्वप्रधानमन्त्री नेपालले पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको स्मरणसमेत गरेका छन्। सर्वोच्च अदालतको फैसलाबाट संविधान र लोकतन्त्रको रक्षा भएको उनको भनाइ छ।
स्वतन्त्र र सक्षम न्यायपालिका, लोकतान्त्रिक व्यवस्थापिका र जवाफदेही कार्यपालिकाबाट नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्न सकिने उनले बताएका छन्।
प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको उपलब्धि भएको अध्यक्ष नेपालको सन्देशमा उल्लेख छ।
अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणका लागि भएका विभिन्न आन्दोलनका क्रममा जीवन गुमाउने सबै ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।