काठमाडौं- लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ।
टर्फ मुरमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा आर्सनले घरेलु टोली बर्नलेमाथि १–० को जित निकालेको हो।
आर्सनलका लागि पहिलो हाफमा मार्टिन ओडेगार्डले गरेको गोल नै निर्णायक बन्यो। उनले ३०औं मिनेटमा फ्रिकिकमा सिधै गोल गरेका थिए।
मार्टिन यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट स्थायी रुपमा आर्सनलमा अनुबन्ध भएका हुन्।
जितसँगै आर्सनल ५ खेलबाट ६ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ। पराजित बर्नले १ अंक जोडेर १९औं स्थानमा रहेको छ।
सिटी बराबरीमा रोकियो
साविकको विजेता म्यानचेस्टर सिटी साउथह्याम्टनसँग गोलरहित बराबरीमा रोकिएको छ। घरेलु मैदानमा सिटीले बल पोसेसन राखेपनि गोल गर्न सकेन।
बराबरीसँगै सिटी ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड, चेल्सी र एभर्टन गोलअन्तरमा पछि छ। साउथ ह्याम्टन ५ खेलबाट ४ अंक जोडेर १५औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।