काठमाडौं- लिभरपुलले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि सहज जित निकालेको छ। घरेलु मैदान एनफिल्डमा शनिबार राति सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–० ले पराजित गरेको हो।
लिभरपुलको जितमा साडियो माने, मोहम्मद सलाह र नावी केइटाले एक एक गोल गरे। खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड बनाएको लिभरपुलले खेलको ४३औं मिनेटमा अग्रता लिएको थियो।कोन्स्टानटिनोस सिमिकासको कर्नरमा सलाहको हेडर क्रिस्टल प्यालेसका गोलरक्षक भिसेन्ट गुआइटाले बचाएपनि रिवाउन्डमा मानेले गोल गरे।
७८औं मिनेटमा सलाहले भर्जिल भान डाइकको पासमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे।
८९औं मिनेटमा सब्सिच्युट नावी केइटाले गोल गर्दै लिभरपुललाई ३–० को सहज जित दिलाए। जितसँगै टोली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
लिभरपुलको ५ खेलबाट १३ अंक छ। पराजित क्रिस्टल प्यालेस ५ अंक जोडेर १३औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।