फाइल तस्बिर।
काठमाडौं– नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेबाट चोइटिएर गएकाहरू समाप्त हुने बताएका छन्।
शनिबार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पोखरेलले एमालेबाट चोइटिएर जानेहरुको भविष्य नभएको बताएका हुन्।
उनले एमालेको चरित्र विभाजन र विखण्डन नभइ एकताको पक्षपोषण गर्ने रहेको उल्लेख गर्दै विगतमा भएको विभाजन पनि नटिकेको स्मरण गरे।
‘अहिले देखा परेको नकारात्मक धारमा को को नेता गए, को को नेताहरु चोइटिएर गए त्यो छोडिदिनुस्। म एउटा कुरा भन्न चाहान्छु, त्यो नकारात्मक धार, बिग्रहको धार, विभाजनको धार त्यो सकिनेछ। समाप्त हुनेछ’, उनले भने, ‘त्यसको भविष्य छैन। हिजोदेखिका सबै कुराहरु हामी सम्झना गरौँ। विभाजन टिकेन। विभाजन थामिएन।’
कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले निजामती सेवामा भ्रष्टाचार मौलाएको भन्दै निजामती सेवाभित्र शुद्धीकरण आवश्यक रहेको बताए। उनले भ्रष्टाचारको अन्त्य नगरी देशलाई समृद्ध बनाउन नसकिने धारणा व्यक्त गरे।
उनले कर्मचारीहरुले आफ्नो जिम्मेवारीप्रति उदासिन हुने हो भने देशको विकास नहुने बताए। थापाले प्रशासन सञ्चालनको कार्यशैलीमा आमुल परिवर्तन गर्नुपर्ने पनि बताए। प्रशासनलाई उच्च प्रविधिहरुसँग जोड्दै आधुनिकीकरण गर्न जरुरी रहेको थापाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।