काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आइतबार संविधान दिवस नमनाउने भएका छन्। संविधान जारी हुने बेलादेखि नै असन्तुष्टि जनाएका उनीहरूले यस वर्ष पनि संविधान दिवसका अवसरमा आयोजित सरकारी कार्यक्रममा भाग नलिने भएका हुन्।
जसपाले देशका प्रमुख स्थानहरुमा ‘संविधान संशोधनको आवश्यकता’ विषयक अन्तर्क्रिया आयोजना गर्नेछ भने लोसपाले ‘सहिदको बलिदानी एवं संविधानको पूर्णता’ विषयक विचार गोष्ठी गर्ने भएको छ। लोसपाको बागमती प्रदेश कमिटीले आइतबार दिउँसो साढे १२ बजे पार्टी कार्यालय बबरमहलमा गोष्ठी गर्ने जनाएको छ।
संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायतत्ता, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा धेरै धाराहरुमा विभेदकारी प्रावधानहरु राखिएको भन्दै सरकारले घोषणा गरेको संविधान दिवस कार्यक्रममा भाग नलिने जसपाले जनाएको छ।
संविधान संशोधनद्वारा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरुमा अन्तर्क्रिया गरिने जसपाको भनाइ छ। संविधान दिवसको औपचारिक कार्यक्रम बहिष्कार गरेको जसपा सत्ता गठबन्धनको एक घटक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।