काठमाडौं- नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलले संसद् कति प्रभावकारी छ भनेर विचार गर्नुपर्ने बताएका छन्। शनिबार विधायन व्यवस्थापन समितिद्वारा आयोजित 'विधायिकी खुलापन-लोकतन्त्र मेला' कार्यक्रममा प्रस्तुत कार्यपत्रको समीक्षा गर्दै उनले अहिले संसद् सरकारको लाचार छाया भएको बताए। त्यो हिजो पनि थियो र अहिले पनि निरन्तर रहेको उनको भनाइ छ।
'संसद्लाई हामीले कानमा लगाउने कुण्डलको रुपमा हेरिनुहुँदैन। अर्थात् मन लागेको बेलामा हल्लाउने, मन नलागेको बेलामा चुप लागेर बस्ने। अर्थात् तीजमा महिलाहरुले लगाउने तिलहरी जस्तो ३६४ दिनचाहिँ दुःख कष्ट गरेर बस्ने, एक दिन भने पनि तिलहरी लगाउने किसिमको विषयवस्तु बनायौं भने संसद्ले पूर्णता पाउन सक्दैन। प्रभावकारी हुनसक्दैन', उनले भने।
उनले संसद्लाई प्रभावकारी बनाउन निश्चित दिनमा संसद् अधिवेशन सुरु हुने र अन्त्य हुने, काम तोक्ने, प्रतिनिधि सभा विघटन भएमा त्यतिबेला सो सभाले गर्ने कामको जिम्मेवारी राष्ट्रिय सभाले लिने जस्ता व्यवस्था गर्नुपर्ने बताए।
उनले सविधान गतिशील लिखत भएको हुनाले यसको समय सापेक्ष सुधार हुन जरुरी रहेको बताए। 'संविधानलाई हामीले गीता वा बाइबलको रुपमा लिएर रिजिड भइरह्यौं भने संविधानको नियति विगतमा जे जस्तो भयो, त्यस्तै हुनसक्छ। संविधान संशोधन गरेर संविधानको उल्लंघन हुँदैन', उनले भने।
उनले १९५० मा जारी गरिएको भारतको संविधानलाई त्यतिबेला संसारको सबैभन्दा राम्रो संविधान, लामो संविधान, कार्यविधिहरु, सपथका ढाँचा समेत उल्लेख भएको संविधान भनिएको उल्लेख गर्दै त्यसमा पनि ७० वर्षको अवधिमा १०५ पटक संशोधन भएको बताए। 'लगभग वर्षको डेढपटक संविधानको संशोधन हुँदोरहेछ। संविधान संशोधन गरेर संविधानको उल्लंघन हुँदैन। संविधानले गतिशीलता पाउँछ, समृद्ध पाउँछ भन्ने कुरा संसारको अनुभवले देखाइरहेको छ। हामीले पनि त्यो पाटो लिनुपर्छ भन्ने मेरो धारणा छ', उनले भने।
संविधान संशोधनको लागि सरकार, संसद्, राजनीतिक दल, अदालत, नागरिक समाज सबैको सामूहिक प्रयास हुनु जरुरी भएको उनको भनाइ छ। त्यसले मात्रै संविधानले पूर्णता पाउने उनले बताए।
'दुनियाँमा कुनै पनि संविधान आफैंमा पूर्ण हुनसक्दैन। यो समय सापेक्ष संवैधानिक विकासबाट पूर्णता पाउनसक्ने अवस्था हुनसक्छ। यस प्रयोजनका लागि सरकारले महत्त्वपूर्ण रोल खेल्नुपर्छ। र, संसद्ले पनि', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।